शुक्रबार, चैत ६, २०८२

राजस्व अनुसन्धानले शौर्य सिमेन्ट उद्योगसँग बयान लिने

मेरोन्यूज २०८१ भदौ २६ गते १९:५०

सिरहा । सिरहाको मिर्चैयास्थित शौर्य सिमेन्ट उद्योगमा विदेशी ब्राण्डको मार्लबोरो चुरोट भेटिएको प्रकरणमा राजस्व अनुसन्धान कार्यालय, इटहरीले उद्योगसँग बयान लिने तयारी गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

उद्योगमा म्याद गुज्रिएका र ‘रि–लेबलिङ’ गरिएका दुई प्रकारका मार्लबोरो चुरोट गत साउनमा जलाइएको र अझै केही चुरोट उद्योगभित्रै रहेको विषयमा समाचार सार्वजनिक भएको थियो । त्यसलगत्तै राजस्वले उद्योगसँग लिखित जवाफ मागेका छन् ।

उद्योगले गत १९ गते राजस्वको पत्रको जवाफ पठाए पनि त्यसमा सन्तुष्ट हुने अवस्था नभएपछि प्रत्यक्ष बयान लिने तयारी गरिएको राजस्व अनुसन्धान कार्यालय, इटहरीले जनाएको छ । “उद्योगबाट आएको जवाफको पनि हामी अध्ययन गर्दैछौँ, राजस्वका प्रमुख खेमराज ओझाले भने, “त्यसले मात्र सन्तुष्ट हुने अवस्था देखिएन । त्यसैले उद्योगसँग बयान लिने तयारी गरिएको छ ।”

उद्योगलाई चाँडै बयानका लागि बोलाउने तयारी भइरहेको प्रमुख ओझाले जानकारी दिए। उनले बढी मूल्यको स्टिकर टाँसेर चुरोट बेची उपभोक्तालाई ठग्नुका साथै राजस्व पनि छली गरिएको देखिएकाले सूक्ष्म रुपमा अनुसन्धानमा जुटेको बताए।

प्रतिक्रिया