मंगलबार, फागुन ५, २०८२

एमाले सचिवालय : वार्षिक कार्ययोजनामा पारित

मेरोन्यूज २०८१ भदौ २८ गते २१:०४

काठमाडौँ । नेकपा (एमाले) ले वार्षिक कार्ययोजना पारित गरेको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले पोलिटब्युरो बैठकले दिएको सुझावका आधारमा कार्ययोजना पारित गरेको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिए।

Advertisement
nepal life insurencenepal life insurence

उनका अनुसार कार्ययोजनामा विभिन्न १८ वटा विषय समेटिएको छ । पार्टी सदस्यता नवीकरण र अभिलेखीकरण, नियमित अधिवेशन, बाँकी रहेका जिल्ला अधिवेशन कात्तिक मसान्तभित्र सम्पन्न गर्ने विषय कार्ययोजनामा समेटिएको छ । सबै तहको अधिवेशन मङ्सिर मसान्तभित्र सम्पन्न गरिसक्ने गरी योजना बनाइएको उनले बताए ।

पार्टी प्रवेश गरेका र विभिन्न कमिटीबाट बिदा भएकालाई तीन महिनाभित्र जिम्मेवारी दिइने कुरा कार्ययोजनामा उल्लेख गरिएको छ । यस्तै पार्टी कमिटी र कार्यकर्ताको कामको मूल्याङ्कनका लागि विधि बनाइएको छ । पार्टी एकता कसरी निमार्ण गर्न सकिन्छ भन्ने कुरालाई आधार बनाएर कार्ययोजना बनाइएको महासचिव पोखरेलले बताए ।

पार्टी स्कुल अभियानको रुपमा सञ्चालन गर्ने र प्रत्येक वर्ष पार्टीका सदस्यले अनिवार्य रुपमा कुनै न कुनै तहको पार्टीको स्कुलमा सहभागि भई प्रशिक्षित हुनुपर्ने विषय कार्ययोजनामा उल्लेख गरिएको छ । कार्ययोजनामा सरकारले गरेका कामलाई जनस्तरमा लैजाने र पार्टी कार्यालाई व्यवस्थित रुपमा सञ्चालन गर्ने जोड दिइएको छ ।

पार्टी कार्यालय व्यवस्थित बनाइने पार्टीले केन्द्रदेखि वडासम्म कार्यालयलाई व्यवस्थित गर्ने उल्लेख गरेको छ । कार्ययोजनामा हरेक कमिटीले आफ्नो बजेट तयार गर्नुपर्ने र वार्षिक बजेट बनाएर आम्दानी र खर्चको व्यवस्थापन गर्नुपर्ने रहेको महासचिव पोखरेलले बताए ।

पार्टीका नेता तथा कार्यकताको जीवनशैली, आर्थिक अनुशासन र चारित्रिक प्रश्नमा जनताका लागि प्रिय र स्वीकार्य हुने स्थिति बनाउने कुरा कार्ययोजनामा समेटिएको उनले बताए । बैठकले पार्टी स्थापना ७५ वर्ष पूरा गरेको अवसरमा बाँकी रहेका विषयलाई वार्षिक कार्ययोजनामा समेटिएको छ ।

पार्टीको इतिहास, आन्दोलनका विभिन्न घटनाको अभिलेख लेख्ने र पुस्तक पार्टीको ‘सेल्टर’ प्रकाशन गर्नेजस्ता कुरा कार्ययोजनामा समेटिएका छन् । युथ समिट गर्ने एमालेले ४० वर्षभन्दा मुनिका युवालाई समेट्नका लागि ‘युथ समिट’ आयोजना गर्ने भएको छ ।

युवाको राष्ट्र निर्माण भूमिका स्थापना गर्ने उद्देश्यले समिट आयोजना गर्ने कुरा कार्ययोजनामा राखिएको महासचिव पोखरेलले बताउनुभयो । पार्टीले भारत कम्युनिष्ट पार्टी (माक्सवादी) का महासचिव सीताराम यचुरीको निधनप्रति दुःख व्यक्त गरेको छ ।

बैठकले यचुरीको अन्तिम संस्कारमा सामेल हुनका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल जानुहुने निर्णय गरेको छ । महासचिव पोखरेलले एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि जनता जागृत भएको मूल्याङ्कन भएको बताए । उहाँले सत्तामा रहेका दलबीचको सहकार्यलाई अझ धनिष्ट बनाउने हिसाबले संसद् र सरकारलाई अझ प्रभावकारी काम गर्ने बताए ।

प्रतिक्रिया