अमेरिकामा इन्ट्रा कप भलिबल, रुकुम र बेलमण्ट विजयी

न्युयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग सहरमा सम्पन्न इन्ट्रा कप भलिबल प्रतियोगितामा पुरुषतर्फ रुकुम टिम र महिलातर्फ बेलमण्ट टिम विजयी भएका छन् ।
गए राति सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक फाइनल खेलमा रुकुम टिमले सजनी टिमलाई ३–२ को सेटले जितेको थियो । नेपालको कर्णाली प्रदेशअन्तर्गत रुकुमबाट आएर अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्ने खेलाडी रुकुम टिममा सम्मिलित छन् भने सुदूरपश्चिम प्रदेशबाट अमेरिका आई टेक्सासमै बसोबास गर्ने खेलाडी सजनी टिममा समावेश छन् । प्रथम हुने रुकुम टिमले १० तोला सुनको गोल्डकप र १२ हजार डलर (रु १६ लाख नौ हजार) जितेका छन् । उनीहरूलाई आयोजक संस्था ‘इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका’का अध्यक्ष डिल्ली अधिकारीले सो पुरस्कार हस्तान्तरण गरेका थिए।
त्यसैगरी महिला भलिबलतर्फ मेरिल्याण्ड राज्यको नेपाली क्लब बेलमण्टले जितेको छ । नेपाली राष्ट्रिय खेलाडी सिपोरा गुरुङ र रमिला तण्डुकार सम्मिलित बेलमण्टले १० तोला सुनको गोल्डकप र नौ हजार डलर (रु १२ लाख ६ हजार) जितेको थियो ।
यसैगरी सो प्रतियोगितामा पुरुषतर्फ उपविजेता बनेको सजनी टिमले आठ हजार डलर (रु १० लाख ७२ हजार) र महिलातर्फको उपविजेता बिवाइएससी मिनीसोटाले छ हजार डलर (रु आठ लाख चार हजार) पुरस्कार प्राप्त गरेको छ । खेलको नियमानुसार सुनको ट्रफी हात पार्न लगातार तीनपटक जित्नुपर्ने हुन्छ । पुरुष विजेता रुकुम टिम र महिला विजेता बेलमण्टले लगातार दुईपटक इन्ट्रा कप भलिबल प्रतियोगिता जितिसकेका छन् । अब एकपटक दुवै टिमले जिते सुनको ट्रफी यी टिमले लग्नेछन् ।
पुरस्कार वितरण गर्दै फाउण्डेसनका अध्यक्ष अधिकारीले खेल जितेर पुरस्कार रकम, ट्रफी र कपमात्र लिएर खेलाडी फर्किएको नभई नेपालीपन, नेपाली मन र नेपाली जातीय एकतालाई मजबुद बनाएको बताए । उनले नेपालीपन र नेपाली सांस्कृतिक एकतालाई संसारभर मजबुद बनाउन फाउण्डेसनले ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को दोस्रो संस्करण सन् २०२५ मा देखि सुरु गर्ने बताए ।
पुरस्कार वितरण गर्दै नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले नेपालीपन र नेपाली मनलाई अमेरिकामा एकताबद्ध बनाई खेलकुद प्रतियोगिता गराएकामा आयोजक संस्थाको सराहना गरे।
खेल व्यवस्थापन समितिका संयोजक ओमराज गुरुङका अनुसार इन्ट्रा कप भलिबलको सर्वोत्कृष्ट खेलाडीमा महिलातर्फ बेलमण्टकी सिपोरा गुरुङ र पुरुषतर्फ रुकुम टिमका डेमोण्ड खड्का घोषित भएका थिए । प्रतियोगितामा पुरुषतर्फ तेस्रो हुन सफल सानफ्रान्सिस्को टिमले पाँच हजार डलर (रु छ लाख ७० हजार)र महिलातर्फ फ्रेण्डसिप ओहायो टिमले तीन हजार डलर (रु चार लाख दुई हजार) प्राप्त गरेका छन् ।
















राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
असल प्रतिपक्षीय भूमिका निर्वाह गर्नेछौँः सांसद थकाली
युवा सांसद भन्छन्– ‘नयाँ पुस्ताको परिवर्तनको आकांक्षा नै हाम्राे एजेण्डा’
प्रतिनिधिसभा सदस्यको शपथमा जे देखियो…
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रतिक्रिया