मिथिलामा ‘दशहरा’ पर्व सुरु, आज घटस्थापना गरिँदै

महोत्तरी। प्राचीन मिथिलाक्षेत्रमा ‘दशहरा’ पर्व सुरु भएको छ । मिथिलामा शारदीय नवरात्र र दशहरा भनिने बडादसैँ पर्वको पहिलो दिन आज महोत्तरीसहितका यस क्षेत्रमा कलश यात्राका साथ घटस्थापना गरिँदै छ ।
दसैँ पर्वलाई मिथिलामा ‘दशहरा’ भनिन्छ । मिथिला परम्परामा दुईवटा नवरात्र छन् । असोज शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको पर्वलाई शारदीय र चैत शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको पर्वलाई वासन्ती नवरात्र भनिन्छ । देवीपूजन र आराधनामा दुवै नवरात्र समान महत्वका भए पनि शारदीय नवरात्र पहिलेदेखि नै धुमधामले मनाउने प्रचलन रहेको पाका मैथिल बताउँछन् ।
मिथिलाका देवी शक्तिपीठहरुमा कन्याकुमारीहरुले आज धार्मिक महत्वका नदी र सरोवरबाट माटाका नयाँ घडामा भरेर ल्याएको जल देवीको प्रतिमा र मन्दिर परिसरमा अभिषेक गर्दै सोही जल कलश स्थापना गरेर घटस्थापना गरिन्छ । यस प्रयोजनका लागि आज एकाबिहानैदेखि बस्तीबस्तीमा कलश यात्राका कार्यक्रम भइरहेका छन् ।
महोत्तरीका प्रसिद्घ देवी शक्तिपीठ बर्दिबास नगरपालिका–४ स्थित पञ्चधुरा माईस्थान मन्दिर, औरही नगरपालिकाको सोनामाईस्थित सोनामाई माई मन्दिर, जलेश्वर नगरपालिका–१ स्थित राजदेवीस्थानमा घटस्थापनाका लागि कलश यात्रा भएको छ ।
रातु, मरहा, दुधमती नदी र पुरन्दर, वरुण, भार्गव, लक्ष्मीसागर र ध्रुवकुण्डसहितका सरोवरबाट नयाँ घडामा जल भर्न बिहानैदेखि झाँकी र बाजागाजासहितको कलशयात्रा भएका छन् । कलशयात्रामा नगरगाउँ बस्तीका आम सर्वसाधारणको सहभागिता छ । कलशयात्रामा कन्याकुमारीहरुले भरेका घडाको जलबाट घटस्थापनाको कलश स्थापना गरिन्छ ।
घटस्थापना गरिएसँगै शक्तिपीठ र देवीका प्रतिमा बनाएर दुर्गापूजा गरिनेस्थलमा जौ, तिल, गहुँ, धान, मकैसहितको जमरा राखिन्छ । बर्दिबासको हटियाचोक, जलेश्वरको महेन्द्रचोक र हाटेचौर, भङ्गाहाको सीतापुरबजार, गौशालाबजार, लोहारपट्टीसहितका जिल्लाका ३० भन्दा बढी ठाउँमा दुर्गा मेलाको आयोजना भएको छ ।
नवरात्रको प्रारम्भसँगै जिल्लाका सबैजसो गाउँनगर बस्तीमा देवी दुर्गाका भजन गुञ्जिन लागेका छन् । दशहरा पर्व सुरु भएसँगै मिथिलामा मङ्गल धुन गुञ्जिएको । बस्तीबस्तीमा देवी भजन भइरहेको छ । दशहराको आगमनले मिथिलावासीमा हर्ष छाएको छ । साथै बजारमा चहलपहल पनि बढेको छ ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया