मिथिलामा ‘दशहरा’ पर्व सुरु, आज घटस्थापना गरिँदै

महोत्तरी। प्राचीन मिथिलाक्षेत्रमा ‘दशहरा’ पर्व सुरु भएको छ । मिथिलामा शारदीय नवरात्र र दशहरा भनिने बडादसैँ पर्वको पहिलो दिन आज महोत्तरीसहितका यस क्षेत्रमा कलश यात्राका साथ घटस्थापना गरिँदै छ ।
दसैँ पर्वलाई मिथिलामा ‘दशहरा’ भनिन्छ । मिथिला परम्परामा दुईवटा नवरात्र छन् । असोज शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको पर्वलाई शारदीय र चैत शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको पर्वलाई वासन्ती नवरात्र भनिन्छ । देवीपूजन र आराधनामा दुवै नवरात्र समान महत्वका भए पनि शारदीय नवरात्र पहिलेदेखि नै धुमधामले मनाउने प्रचलन रहेको पाका मैथिल बताउँछन् ।
मिथिलाका देवी शक्तिपीठहरुमा कन्याकुमारीहरुले आज धार्मिक महत्वका नदी र सरोवरबाट माटाका नयाँ घडामा भरेर ल्याएको जल देवीको प्रतिमा र मन्दिर परिसरमा अभिषेक गर्दै सोही जल कलश स्थापना गरेर घटस्थापना गरिन्छ । यस प्रयोजनका लागि आज एकाबिहानैदेखि बस्तीबस्तीमा कलश यात्राका कार्यक्रम भइरहेका छन् ।
महोत्तरीका प्रसिद्घ देवी शक्तिपीठ बर्दिबास नगरपालिका–४ स्थित पञ्चधुरा माईस्थान मन्दिर, औरही नगरपालिकाको सोनामाईस्थित सोनामाई माई मन्दिर, जलेश्वर नगरपालिका–१ स्थित राजदेवीस्थानमा घटस्थापनाका लागि कलश यात्रा भएको छ ।
रातु, मरहा, दुधमती नदी र पुरन्दर, वरुण, भार्गव, लक्ष्मीसागर र ध्रुवकुण्डसहितका सरोवरबाट नयाँ घडामा जल भर्न बिहानैदेखि झाँकी र बाजागाजासहितको कलशयात्रा भएका छन् । कलशयात्रामा नगरगाउँ बस्तीका आम सर्वसाधारणको सहभागिता छ । कलशयात्रामा कन्याकुमारीहरुले भरेका घडाको जलबाट घटस्थापनाको कलश स्थापना गरिन्छ ।
घटस्थापना गरिएसँगै शक्तिपीठ र देवीका प्रतिमा बनाएर दुर्गापूजा गरिनेस्थलमा जौ, तिल, गहुँ, धान, मकैसहितको जमरा राखिन्छ । बर्दिबासको हटियाचोक, जलेश्वरको महेन्द्रचोक र हाटेचौर, भङ्गाहाको सीतापुरबजार, गौशालाबजार, लोहारपट्टीसहितका जिल्लाका ३० भन्दा बढी ठाउँमा दुर्गा मेलाको आयोजना भएको छ ।
नवरात्रको प्रारम्भसँगै जिल्लाका सबैजसो गाउँनगर बस्तीमा देवी दुर्गाका भजन गुञ्जिन लागेका छन् । दशहरा पर्व सुरु भएसँगै मिथिलामा मङ्गल धुन गुञ्जिएको । बस्तीबस्तीमा देवी भजन भइरहेको छ । दशहराको आगमनले मिथिलावासीमा हर्ष छाएको छ । साथै बजारमा चहलपहल पनि बढेको छ ।












Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया