बिहीबार, चैत १२, २०८२

चाडपर्वमा पनि बलेनन् सडक बत्ती

मेरोन्यूज २०८१ असोज २४ गते ९:१५

सिरहा । रातको समय छ । बजार क्षेत्र भए  पनि सडकमा फाट्टफुट्ट चल्ने मोटरसाइकलको आवाजबाहेक सबैतिर चकमन्न र सुनसान छ । लहान नगरपालिका–४ स्थित बजार क्षेत्रको मुख्य चोकका रूपमा रहेको छ, हुलाक चोक । यही चोकबाट उत्तर–पूर्वतर्फको सडकमा सडक बत्ती नहुँदा रात जति छिप्पिँदै जान्छ, सडक उत्ति नै निस्पट्ट अँधेरो हुँदै जान्छ । 

Advertisement
nepal life insurencenepal life insurence

स्थानीय सत्य नारायण चौधरी भन्छन्,“सडकमा बत्ती बल्नु भनेको उज्यालो हुनु मात्रै होइन, स्थानीय बासिन्दाले सुरक्षाको अनुभूति गर्नु तथा सम्भावित चोरी डकैतीका घट्ना न्यूनीकरण हुनु पनि हो । अँध्यारोको मौका छोपी चाडबाडको समयमा चोरी डकैती हुने सम्भावना बढी हुन्छ । त्यस्तै मादक पदार्थ तथा लागुऔषध सेवन गर्नेले यही यस्तै बेला त हो नि  अनैतिक क्रियाकलाप गर्ने !”

उनी सहर बजार मानिएको लहानको यस मुख्य चोकमै सडक बत्ती नहुनुले राम्रो सन्देश नदिएको धारणा राख्छन् । “यो क्षेत्र अत्यधिक चोरी हुने ठाउँ हो । चोरले दिउँसै घर फोरौँला जस्तो गर्छन् । रातको समयमा सडक बत्ती नहुँदा उनीहरूले त्यसको फाइदा लिने सम्भावना हुन्छ । विगत लामो समयदेखि सडक बत्तीको लागि वडा कार्यालयदेखि नगरपालिकासम्म धाउँदा पनि समस्या समाधान हुन सकेको छैन । चाडबाडको समयमा पनि बजार छेवैको सडक अन्धकार हुनु बत्तीमुनिको अँध्यारो भनेजस्तै जस्तै भयो”, चौधरीले भने ।  

यस क्षेत्रमा रहेको वडा नं ८ मा पर्ने २ नं सडकमा भने गत वर्षदेखि स्मार्ट सडक बत्ती जडान गरिएको हुँदा झिलिमिली रहेको छ । लामो समयदेखि हुलाक चोकदेखि उत्तर–पूर्वतर्फ जाने सडकमा सडक बत्ती नहुँदा सडक अन्धकार भएको सम्बन्धमा वडा अध्यक्ष रामनाथ पण्डितसमक्ष जिज्ञासा राख्दा उनले भने, “नगरपालिकाले ठेक्कामार्फत सडक बत्ती लगाउने हो । नगरसँग समन्वय गरेर आवश्यक सडक बत्तीको व्यवस्था गर्न पहल गर्नेछु ।”

नगरप्रमुख महेशप्रसाद चौधरीले नगरभित्रका सम्पूर्ण सडकमा बत्ती जडान काल लागि बर्सेनि ठेक्का लाग्ने गरेको र यस वर्षको लागि पनि ठेक्का लागिसकेकाले चाँडै समस्या समाधान हुने बताए । “हामी सडक बत्तीको व्यवस्थापनमा लागि नै रहेका छौँ । जडान नभएका ठाउँमा चालु आर्थिक वर्षभित्र काम हुन्छ । त्यसबाहेक चाडबाडको समयमा सडक बत्ती माग भएमा नगरले आवश्यक बल्ब उपलब्ध गराउने छ”,  उनले भने ।

प्रतिक्रिया