बिहीबार, वैशाख २४, २०८३

बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना

मेरोन्यूज २०८१ असोज २४ गते १४:०४

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना गरिएको छ । गाउँका किसानले उत्पादन गरेको दूध बजारीकरण गर्ने उद्देश्यले सिद्ध बहुउद्देश्यीय सहकारी संस्थाले सङ्कलन केन्द्र स्थापना गरेको हो ।

Advertisement
NiccNicc

सहकारीका कोषाध्यक्ष युवराज बरुवालले करिब रु सात लाखको लगानीमा डिपफ्रिज, चिलिङ र मिल्क एनालाइजर मेसिन खरिद गरी सङ्कलन केन्द्र सञ्चालन गरेको जानकारी दिए। “हिमालयन चिज उद्योग कोरोना महामारीका कारण बन्द भएपछि घाराका किसानले उत्पादन गरेको दूधले बजार पाउन सकेको थिएन,” उनले भने“गाउँका किसानबाट दूध सङ्कलन गरेर पोखरेबगर, भुरुङ–तातोपानी, नारच्याङ, दाना, घोडेपानीमा लगेर बेच्ने व्यवस्था मिलाएका छौँ ।”

पैँतीस किसानले दैनिक एक सय ४० लिटरका दरले सङ्कलन केन्द्रमा दूध ल्याउने गरेका छन् । व्यावसायिकरुपमा गाईभैँसीपालन गरेका किसानको समयको बचत र बजारको सुनिश्चित भएको छ । बजारमा बिक्री नभएको दूध प्रशोधन गरेर चिज उत्पादन गर्ने तयारी गरेको सहकारीका अध्यक्ष बिमल बरुवालले बताए ।

“बचत तथा ऋणको मात्र कारोबार गर्दै आएकामा अब दूध सङ्कलन र बिक्री वितरण गर्न थालेका छौँ,” उनले सुनाए । विसं २०६६ मा स्थापना भएको सहकारी नियमितरुपमा सञ्चालनमा छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले दूध, तरकारी, फलफुल, आलु दूवानीका लागि कृषि एम्बुलेन्स सञ्चालन गरेको जानकारी दिए।

प्रतिक्रिया