बिहीबार, फागुन १४, २०८२

उपत्यकाभित्र ‘नो हर्न’ मा सख्त बन्दै ट्राफिक प्रहरी

मेरोन्यूज २०८१ असोज २४ गते २१:०८

काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनलाई ‘नो हर्न’ अभियान लागु गराउन ट्राफिक प्रहरी झन् कडाइका साथ जुटेको छ । उपत्यकाको ध्वनि प्रदूषणलाई प्रहरीले आठ वर्षअघि देखि थालेको यो अभियान परिपालनमा केही लापरबाही देखिन थालेपछि ट्राफिक प्रहरी जुरमुराएको हो । 

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौं उपत्यकालाई २०७४ वैशाख १ गते ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरिएको थियो । त्यति बेला ‘नो हर्न’ लाई अभियानकै रूपमा सञ्चालन गरी प्रचारप्रसार र सचेतना फैलाएर सवारीसाधनमा जागरण पैदा गरिएको थियो । जसका कारण हर्नको अनावश्यक प्रयोग ह्वात्तै घटेको थियो । 

पछिल्ला वर्षमा ट्राफिक प्रहरीले केही सुस्त भएपछि सवारी साधनहरू लापरवाह बन्न थालेका थिए। अहिले जथाभाबी हर्न बजाउँदा पैदल यात्री त्यसमा पनि बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीहरूको स्वास्थ्यमा असर पर्न थालेको गुनासो आउन थाले पछि नो हर्न कार्यान्वयनमा कडाइ गर्न थालिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक(डिआइजी) भरत बोहराले जानकारी दिए ।

‘पछिल्लो समय ट्राफिक प्रहरी नभएको स्थानमा फेरि सवारी साधनहरूले हर्न बजाउन सुरु गरेको र त्यसले जनस्वास्थ्यमा नै असर गरेको गुनासो आउन थालेपछि हामीले यसको परिपालनमा कडाइ गरिरहेका छौ,’ डिआइजी बोहराले भने । 

यसको कडाइ गर्ने क्रममा जहीँतहीँ आवश्यक हर्न बजाउने सवारी साधनलाई कारबाही गर्ने गरेको डिआइजी बोहराले बताए । जसको प्रत्यक्ष चित्र कारबाही परेका सवारी साधनको आँकडामा देखिएको छ । 

चालु आर्थिक वर्षको पहिलो तीन महिना नपुग्दै नौ हजार भन्दा बढी सवारी साधन कारबाहीमा परिसकेका छन् । गत आर्थिक वर्ष ०८०÷८१ मा अनावश्यक हर्नको प्रयोग गर्ने १० हजार १२३ सवारी साधन कारबाहीमा परेकामा यस वर्ष साउन, भदौ र आधा असोजमा नै नौ हजार ८३० सवारी साधन कारबाहीमा परिसकेका छन् । 

सामान्यतः मानिसको सामान्य सुन्ने क्षमता २६ डेसिबलसम्म हुन्छ । तर ६० डेसिबलसम्मको ध्वनि पनि सुन्नका लागि स्वीकारयोग्य हुन्छ । ७० डेसिबलको ध्वनि स्वास्थ्यको लागि हानिकारक हुन्छ।

ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास आउने, रक्तचाप बढ्दै जाने, हृदयाघात हुने, पक्षाघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने लगायत असर हुन्छ । 

लाखौँ सवारी साधन रहेको काठमाडौं उपत्यकामा जथाभाबी रूपमा साइलेन्सर मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठुलो आवाज निकाल्ने मोटरसाइकल र प्रेसर हर्न बजाउँदा निकै ठुलो ध्वनि प्रदूषण सिर्जना हुने गर्छ ।

यही कारण ट्राफिक प्रहरीले उपत्यकामा नो हर्न अभियान थालेको हो । यद्यपि दुर्घटना हुने अवस्था भएमा, सडकको एक भागबाट अर्को भाग नदेखिने घुम्ती भएका स्थानमा अति आवश्यक परेका खण्डमा मात्र हर्नको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया