मंगलबार, वैशाख १५, २०८३

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा

मेरोन्यूज २०८१ असोज २९ गते १७:४६

काठमाडौँ । नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ।

Advertisement
NiccNicc

आगामी कात्तिक १ देखि १४ गतेसम्म दशरथ रङ्गशालामा आयोजना हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एन्फा प्रवक्ता सुरेश शाहले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

प्रतियोगितामा आयोजक नेपालसहित भारत, माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भुटान र बङ्गलादेश सहभागी छन् । उक्त प्रतियोगिताको लागि पाकिस्तान, माल्दिभ्स र बङ्गलादेशको टोली नेपाल आइसकेका छन् भने भारत र भुटानको टोली भोलि काठमाडाैँ आइपुग्ने एन्फाले जनाएको छ।

सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको एन्फा प्रवक्ता शाहले जानकारी दिए।

उक्त प्रतियोगिताको टिकेटिङ्ग अधिकार भने माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्ट्सलाई प्रदान गरिएको छ। प्रतियोगिताको समूह चरणका खेलको टिकट दर साधारण प्याराफिटतर्फ रु तीन सय र भीआइपीतर्फ रु पाँच सय तोकिएको छ। त्यस्तै नकआउट चरणका खेलहरूको टिकट दर साधारण प्याराफिटतर्फ रु पाँच सय र भीआईपीतर्फ रु एक हजार कायम गरिएको छ।

यसैगरी प्रतियोगिताको खेल हेर्न १० वर्षसम्मका सबै बालबालिकालाई निःशुल्क प्रवेश दिइने एन्फाले जनाएको छ।

प्रतिक्रिया