शनिबार, पुष १९, २०८२

प्रहरी समायोजन नगरे संघीय सरकारले विकल्प दिनुपर्छ : मुख्यमन्त्री शाह

मेरोन्यूज २०८१ असोज ३० गते १३:०५

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रहरी समायोजन नभएमा विकल्प दिनुपर्ने बताएका छन् ।

शाहले संघीय सरकारले बनाउनुपर्ने प्रहरी समायोजन जस्ता महत्त्वपूर्ण कानुन नबनेका कारण काम गर्न चुनौती थपिएको बताएका हुन् । ६९ औँ प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शाहले प्रदेशमा प्रहरी समायोजन नगर्नुको कारणबारे नेतृत्वले स्पष्ट पार्नुपर्ने बताए ।

‘हामी संघीयतामा गइसक्यौँ । संघले बनाउनुपर्ने कानुन नबनाउँदा प्रदेशले अधिकार पाएको छैन’, शाहले भने, ‘प्रहरी समायोजन हुन्छ कि हुँदैनन् नेतृत्वले जवाफ दिनुपर्छ । हुँदैन भने विकल्प सोच्न जरुरी छ । विकल्प दिनुपर्छ ।’

शाहले प्रदेश सरकारले आफ्नो स्रोत, साधनबाट संघीय सरकार अन्तरगतका कार्यालयलाई सहयोग गर्दै बताए तर त्यस्ता संरचनाको उद्घाटन र निरीक्षण गरेर मात्र संघीयता बलियो नहुने भएकाले नेतृत्व तहमा बस्ने सबैले कुरा बुझ्न जरुरी रहेको बताए ।

प्रतिक्रिया