बिहीबार, वैशाख १७, २०८३

रामपुरमा नेवाः समाजको सांस्कृतिक सङ्ग्रहालय बन्दै

मेरोन्यूज २०८१ कार्तिक १६ गते १७:५४

रामपुर। पाल्पाको रामपुर नगरपालिकामा नेवाः समुदायको सांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु भएको छ। नेवारी समुदायको कला संस्कृतिको जगेर्ना गर्न नेवाः समाज रामपुर पाल्पाले भवन निर्माणको थालनी गरेको हो।

Advertisement
NiccNicc

रामपुर नगरपालिका–४ स्थित गैराबारीमा करिब एक रोपनी क्षेत्रफलमा तीनतले भवनसहितको सङ्ग्रहालय निर्माण सुरु गरिएको नेवाः समाज रामपुरका अध्यक्ष बाबुराम श्रेष्ठले बताए। नयाँ पुस्तालाई पुराना मौलिक कला संस्कृतिबारे अवगत गराउन सङ्ग्रहालय बनाउन थालिएको अध्यक्ष श्रेष्ठ बताउँछन्।

सङ्ग्रहालय निर्माणका लागि सङघीय र प्रदेश सरकारबाट रकम विनियोजना भएको छ। दुई चरणमा गरेर संरचना निर्माणको काम सक्ने योजनाका साथ निर्माणको काम अघि बढाइएको छ।

पहिलो चरणमा सङ्घीय सरकारबाट विनियोजन भएको रु १८ लाख र जनश्रमदान गरी रु २१ लाख १७ हजार चार सय ९६ बराबरको रकमबाट भवन निर्माण हुनेछ भने दोस्रो चरणमा लुम्बिनी प्रदेश सरकारबाट विनियोजित रु २५ लाखको काम ठेक्काबाट हुने नेवाः समाजका सचिव विमल श्रेष्ठले जानकारी दिए। चालु आर्थिक वर्षमा रु ४६ लाख १७ हजार चार सय ९६ बराबरको रकमबाट काम हुने बताइएको छ।

परम्परागत रुपमा चलनचल्तीमा आएका कला, संस्कृतिलाई लोप हुन नदिन नेवाः समाजले गरेको यस कार्यले नयाँ पुस्ताले आफ्नो संस्कृतीबारे धेरै जानकारी पाउनेछन्।

यहाँ निर्माण हुन लागेको सङ्ग्रहालयमा नेवार समुदायको मात्र नभई अन्य जातजाति, समुदायमा प्रचलित संस्कृतिलाई समावेश गरेर राख्ने समाजले जनाएको छ। पहिलो तलामा सभाहल, दोस्रो तलामा सङ्ग्रहालय र तेस्रो तलामा कार्यालय भवन रहनेछ।

लुम्बिनी प्रदेशसभा सदस्य तथा लुम्बिनी प्रदेशका अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति  राजुप्रसाद श्रेष्ठले कला संस्कृतिको संरक्षणका लागि सङ्ग्रहालयले रामपुरको सांस्कृतिक पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए।

भवनको शिलान्यास प्रदेशसभा सदस्य श्रेष्ठले गरेका हुन्। रामपुरमा रहेका नेवाः समुदायले आफ्नो मौलिक संस्कृति जोगाउने अभियानमा जुटेको छ। यस आयोजनाबाट सात सय जना लाभान्वित हुने समाजले जनाएको छ।

प्रतिक्रिया