बरङ्जामा ‘आगोदेउ’ पर्व मनाइयो

काठमाडौं । म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका–३ र ४ वडामा पर्ने बरङ्जाका मगर समुदायले ‘आगोदेउ’ पर्व मनाएका छन् । बरङ्जामा बसोबास गर्ने ९ थरका ४५ कुरिया मगरहरूले हरेक वर्षको कुकुर तिहारदेखि तीन दिन आगोदेउ पर्व मनाउने गर्छन् ।
आगलागीजन्य विपद् नहोस् भन्ने कामनासहित प्रकृतिको पूजा गरेर यो पर्व मनाउने चलन रहेको मङ्गला गाउँपालिका–३ का वडाध्यक्ष याम रोकाले जानकारी दिए ।
‘धार्मिक विधिअनुसार पूजाआजा गरेर कुकुर तिहारको दिन सुरु हुने आगोदेउ पर्वमा प्रकृतिको पूजा गरिन्छ, आगोका कारण कुनै दुर्घटना वा विपद् नहोस् भन्ने कामना गरेर यो पर्व मनाउने चलन छ,’ उनले भने ।
बरङ्जाको शिलाथुरस्थित थानमा मगरका झाँक्रीहरूले पूजाआजा गरेपछि पर्व सुरुआत भएको मानिन्छ । दोस्रो दिन साँझ सो ठाउँमा भेडाको साँढलाई पूजा गरी बलि चढाइन्छ । यसैगरी आगो बाल्ने र मार्ने गरिन्छ । तेस्रो दिन कमेरोले रङ्ग्याएको ढुङ्गालाई काट्ने र पूजाआजा गरेपछि पर्व सकिएको मानिन्छ ।
बरङ्जामा बसोबास गर्ने पुन, घर्ती, रोका, राम्जाली रोका, बझाङ्गे रोका, गाउँथोके घर्ती र बुढाथोकी थरका मगरहरूले आगोदेउ पर्व मनाउँछन् । बाह्रौँ शताब्दीमा बरङ्जामा बसोबास सुरु भएदेखि सुरु भएको आगोदेउ पर्वलाई निरन्तरता दिँदै आएको वडाध्यक्ष रोकाले बताए ।
कात्तिकमा आगोदेउ र जेठमा धुले मेला बरङ्जाका मगरले धुमधामसँग मनाउने पर्व हुन् । जेठको दोस्रो अथवा तेस्रो हप्ताको मङ्गलबारदेखि तीन दिनसम्म मनाइने धुले पर्वपछि थर्पु गाउँमा परम्परागत मेला लगाउने चलन छ । हिउँदभरि खेतबारी सुकेर धुलैधुलो हुने र पानी परेपछि खेती गर्न योग्य हुने हुनाले त्यसको खुसीयालीमा धुले पर्व मनाउने गरिएको वडाध्यक्ष रोकाले बताए ।


















जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प, ८० सेन्टिमिटरको सुनामीको लहर कुजीमा ठोक्कियो
‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु
विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
रास्वपा महामन्त्रीमा भूपदेव शाह
दुई दिन सार्वजनिक बिदाले मानहुँकोटमा बढ्यो पर्यटकको चहलपहल
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया