मंगलबार, चैत ३, २०८२

गणतन्त्र कोरियाद्वारा बाढी प्रभावित क्षेत्रमा सहयोग हस्तान्तरण

मेरोन्यूज २०८१ मंसिर २० गते २१:४९

काठमाडौं । गणतन्त्र कोरियाली राजदूतावास र युनिसेफ नेपालको समन्वयमा काभ्रेपलाञ्चोक जिल्लाको बाढी तथा पहिरो प्रभावित क्षेत्रका लागि सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

कार्यक्रममा कोरियाली राजदूत पार्क थेयङ र युनिसेफका नेपाल प्रतिनिधिले प्रभावित समुदायलाई आवश्यक सामग्री वितरण गरेका थिए। यस सहयोग कार्यक्रम अन्तर्गत कोरियाली सरकारद्वारा युनिसेफको सहकार्यमा स्वास्थ्य सामग्री, बालमैत्री केन्द्र स्थापना, तथा अन्य अत्यावश्यक सामाग्री वितरण गरिएको हो।

बाढी पहिरो प्रभावित क्षेत्रका आमाहरू, दिदीबहिनीहरू, शिशुहरूका लागि सरसफाई सामग्री, नवजात शिशु किटहरू, न्यानो कपडा, र कम्बलहरू प्रदान गरिएको छ।

गत सेप्टेम्बर महिनामा नेपालमा भएको भीषण वर्षाका कारण बाढी र पहिरोले हजारौं घरहरू, खानेपानीका संरचनाहरू, र स्वास्थ्य चौकीहरूमा क्षति पुर्याएको थियो।

यो विपद्को सामना गर्न कोरियाली सरकारले ५ लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराएको छ। यो सहायता काभ्रे, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, र सप्तरीजस्ता उच्च प्रभावित क्षेत्रहरूमा वितरण गरिँदैछ।

राजदूत पार्क थेयङले विपत्तिमा परेको समुदायलाई समयमै सहयोग पुर्याउने कुरामा कोरियाली सरकार प्रतिबद्ध रहेको बताए। उनले भने, “यस्ता मानवीय सेवाले प्रभावित क्षेत्रका जनतालाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्छ।”

नेपाल र कोरियाबीचको कूटनीतिक सम्बन्ध सन् १९७४ मा स्थापना भएको हो। यस सम्बन्धको ५०औँ वार्षिकोत्सव मनाउने क्रममा कोरिया सरकारले पारस्परिक सम्मान, आपसी हित, र साझा चासोमा आधारित सम्बन्धलाई थप प्रगाढ बनाउने प्रतिबद्धता जनाएको छ।

सन् २०१५ को महाभूकम्प, कोभिड–१९ महामारी, र हालका बाढी तथा पहिरोका क्षणमा कोरियाली सरकारले नेपाललाई निरन्तर सहयोग गर्दै आएको छ। नेपालका लागि कोरिया सरकार दीर्घकालीन आर्थिक सहयोगका योजनाहरू अघि बढाउन तत्पर रहेको राजदूत पार्कले बताए ।

यो सहयोगले नेपाल–कोरिया सम्बन्धलाई अझ बलियो बनाउनुका साथै बाढी प्रभावित समुदायहरूको पुनर्स्थापनामा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया