आइतबार, चैत ८, २०८२

गढीमाई मेलामा दर्शनार्थीको घुइँचो

मेरोन्यूज २०८१ मंसिर २४ गते १०:३३

वीरगञ्ज (पर्सा)। भारतको विहार राज्य अन्तर्गतको पूर्वी चम्पारणका सुरेन्द्र यादव बालबालिकासहित बाराको प्रख्यात गढीमाई मन्दिरको दर्शन गर्न आइतबार मध्यरातमा आइपुगेका छन् । यहाँ गढीमाई मन्दिरमा भाकल गरेपछि मनोकामना पूरा भएको भन्दै उनी महागढीमाई नगरपालिका–१ स्थित बरियापुरमा दर्शन गर्न आएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

अहिले गढीमाई मन्दिरमा दर्शन गर्ने भारतीय र नेपाली दर्शनार्थीको घुइँचो लागेको छ । “केही समयअघि गढीमाईको भाकल गरेका थियौँ । माईले हाम्रो मनोकामना पूरा गरेसँगै अहिले माईको पूजाअर्चना गर्न आएका हौँ”, दर्शनार्थी यादवले भने, “परिवारको सुख शान्ति र समृद्धिको कामना गर्दै गढीमाई मन्दिरमा आउने दर्शनार्थीहरुको उल्लेख्य मात्रामा हुनुहुन्छ ।” बरियापुरस्थित गढीमाई मन्दिरमा यही मङ्सिर १ गतेदेखि पञ्चवर्षीय गढीमाई मेला लागिरहेको छ ।

मेलामा भारतका विभिन्न राज्यका मात्रै नभएर अन्य विदेश मुलुकका भक्तजनको पनि बाक्लो उपस्थिति छ । पाँच–पाँच वर्षमा मेला लाग्ने भएकाले पनि श्रद्धालु भक्तजनहरुको निकै भव्य र सभ्य ढङ्गले उपस्थिति हुने गर्छ । नेपालका पनि विभिन्न जिल्लाबाट मेला भर्न आइरहेका छन् ।

गढीमाई पञ्चवर्षीय मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष तथा महागढीमाई नगरपालिका प्रमुख उपेन्द्रप्रसाद यादवले गढीमाई मेलामा दशनार्थीहरुको सहभागिता अत्यधिक रहेको बताए । “विगतका वर्षमा जस्तै यसपालिको पञ्चवर्षीय गढीमाई मेलामा श्रद्धालु भक्तजनको उपस्थिति निकै बाक्लो छ”, उनले भने, “सम्भवत् महिनाभरिको मेलामा करिब एक करोडभन्दा धेरै दर्शनार्थीहरु उपस्थिति हुने अपेक्षा राखेका छौं ।”

जसमा भारतीय पर्यटकको हिस्सा ६० प्रतिशत र स्वदेशी पर्यटकको ४० प्रतिशतको हाराहारीमा हुने अनुमान छ । गढीमाईको पञ्चवर्षीय मेला हेर्न आउने दशनार्थीको अत्यधिक चापको कारणले बाराको सदरमुकाम कलैयादेखि मन्दिर रहेको बरियापुरसम्म नै अत्यधिक भीडभाड र घुइँचो छ ।

अत्यधिक दशनार्थीहरुको भीडको कारणले ट्राफिक व्यवस्थापनमा जटिल बनेको छ । कलैयादेखि बरियापुरमा दुई पाङ्गे मोटरसाइकल, तीन पाङग्रे अटोरिक्सा, ई–रिक्सा, जीप, कार, भ्यान, बस, मिनीबस, ट्रकलगायतका सवारीसाधनमा चढेर मन्दिरको दर्शन गर्न आउनेको घुइँचो देखिन्थ्यो । ग्रामीण भेगका दर्शनार्थीहरु ट्र्याक्टर रिजर्भ गरेर आउने गरेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख ट्राफिक प्रहरी निरीक्षक निलु दुवलले गढीमाई पञ्चवर्षीय मेलामा सवारीसाधनको भीडभाड अत्यधिक रहेको बताए । “दिनरात जुनसुकै बेलामा पनि दर्शनार्थीहरुको उपस्थित भइरहनुभएको छ”, उहाँले भन्नुभयो, “पर्याप्त जनशक्ति खटाएर ट्राफिक व्यवस्थापन भइरहेको छ ।”

दश हजारभन्दा बढी राँगाबलि आइतबार विहान ४ बजेदेखि ६ बजेसम्म धार्मिक परम्पराअनुसार पूजापाठ र अनुष्ठान गरेपछि ब्रहमबाबाको नजिकै बनाइएको मौलोमा पञ्चबलि दिइएको थियो । आइतबार ६ बजेदेखि दिउँसोसम्म राँगा बलि दिइएको थियो । पञ्चवर्षीय गढीमाई मेला व्यवस्थापन समितिका अनुसार करिब १० हजारभन्दा राँगाको बढी दिइसकेको छ । आज पनि बिहानैदेखि बोका बलि चढाउने काम भइरहेको छ ।

प्रतिक्रिया