स्थानीयस्तरमा उत्पादित मासले बजार पाएपछि कृषक उत्साहित

दमौली (तनहुँ)। तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा उत्पादित मास (दलहन) ले बजार पाएपछि कृषक उत्साहित भएका छन् ।
जिल्लाकै सबैभन्दा अग्लो (दुई हजार एक सय ३४ मिटर) उचाइमा अवस्थित छिम्केश्वरीमा उत्पादित मासले स्थानीयस्तरमै बजार पाएपछि यहाँका कृषक उत्साहित भएका हुन् ।
छिम्केश्वरीस्थित बगई, खेउसिङमा उत्पादित मास आँबुखैरेनी गाउँपालिका–३ स्थित हाटबजारबाट सहज रूपमा बिक्री भइरहेको छ । यहाँ कृषकलाई मागअनुसार मास पुर्याउनै हम्मेहम्मे भइरहेको छ ।
खेउसिङका कृषक कमानसिंह गुरुङले विगत वर्षहरूमा बजार खोज्दै हिँड्नु परे पनि यसपटक यहाँ उत्पादित मासले बजार पाएपछि आफूहरू खुसी भएको बताए। उनले भने, “विगतमा मास बिक्रीका लागि भौँतारिनुपथ्र्यो, अहिले त सहज रूपमा बिक्री गर्न पाउँदा सजिलो भयो ।”
आँबुखैरेनी गाउँपालिकामा विगत एक वर्षदेखि सञ्चालनमा आएको हाटबजारले कृषि सामग्री बिक्री वितरण गर्न सजिलो भएको उनको भनाइ छ ।
बगईका कृषक सानुमाया भुजेलले मासले बजार पाउन थालेपछि यस खेतीतर्फ झनै आकर्षण बढ्ने बताइन् । “बजार नपाउँदा कृषक खेतीतर्फ प्रोत्साहित हुँदैनन् तर जब उत्पादित सामग्रीले बजार पाउँछ त्यसले आकर्षण बढ्छ”, उनले भनिन्, “गाउँपालिकाको पहलमा सहज रूपमा मास बिक्री गर्न पाउँदा सजिलो भएको छ ।”
आँबुखैरेनीस्थित हाटबजारमा छ हजार ७५ किलोग्राम मास बिक्री भएको छ । पहिलो चरणमा चार हजार दुई सय र दोस्रो चरणमा एक हजार आठ सय ७५ किलो मास बिक्री भएको हो । त्यस क्रममा कृषकले रु १२ लाख १५ हजार आम्दानी गर्न सफल भएका छन् ।
पहिलो चरणमा रु आठ लाख ४० हजार र दोस्रो चरणमा रु तीन लाख ७५ हजारको मास बिक्री भएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए। उनका अनुसार प्रतिकिलो रु दुई सयमा मास बिक्री गरिएको छ ।
“माग धेरै हुँदा सबैलाई पुर्याउन सकिएको छैन”, केसीले भने ।
गाउँपालिकाले हाटबजारसम्म ढुवानीका लागि सवारीसाधनको व्यवस्थापन गरिदिएको थियो । यस्तै, मास उत्पादन गर्ने कृषकलाई प्रतिकिलो रु २५ अनुदान दिने व्यवस्था मिलाइएको केसीले बताए।
गाउँपालिकाले विगत एक वर्षदेखि प्रत्येक शुक्रबार हाटबजार सञ्चालन गर्दै आएको छ । हाटबजारले स्थानीय कृषक र उपभोक्तालाई जोड्ने काम गरेको छ । हाटबजार स्थानीय कृषिउपज बिक्री वितरणका लागि प्रभावकारी थलोका रूपमा विकास भएको कृषकहरूले बताएका छन् ।
















बाजुरामा अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण
निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त
हुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
राष्ट्रिय किताबखानाद्वारा एकीकृत ‘डिजिटल’ निवृत्तभरण सेवा आरम्भ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया