तरकारी बिक्रीबाट दैनिक २ हजार आम्दानी

अत्तरिया (कैलाली) । जिल्लाको धनगढी उपमहानगरपालिका–६ मटियारीका किसान बिखलु रानाले व्यावसायिक तरकारीखेतीबाट दैनिक रु दुईहजारसम्म आम्दानी गर्दै आएका छन् ।
बीस वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएको उनले अहिले करिब नौ कठ्ठा जग्गामा व्यावसायिक उत्पादन गरिरहेका छन्। उनले सबै खर्च कटाएर तरकारीखेतीबाट वार्षिक रु चारदेखि रु पाँच लाखसम्म आम्दानी हुने गरेको जानकारी दिए।
रानाले भने, “तरकारी बिक्रीबाट प्रशस्त आम्दानी भइरहेकाले जीविकोपार्जनमा समस्या छैन । सानोतिनो समस्या पर्दा छरछिमेक र आफन्तलाई सहयोग गर्न पाएको छु, आफूले ऋण लिनु परेको छैन । आठ जनाको परिवारको सबै खर्च बालबच्चाको पढाइलेखाइ यसैबाट चलेको छ ।” उनले मौसमी, बेमौसमी सबै किसिमका तरकारी लगाउने गरेको बताए।
रानाका अनुसार बिक्री कम हुँदा दैनिक रु एक हजार पाँच सयसम्म र बढीमा रु दुई हजारसम्म आम्दानी भइरहेको छ । उनले भने, “तरकारीबाट दैनिक रूपमा आम्दानी लिन सकिने भएकाले जीविकोपार्जन र दैनिक खर्च सहजै टरेको छ । स्थानीयस्तरमा कृषि गरे मात्रै पनि मनग्ये आम्दानी गर्न सकिने मेरो अनुभव छ, मेरो मान्यता जग्गा बाँझो राख्नु हुँदैन भन्ने हो ।” मेहनत गर्न सके तरकारीखेतीबाट मनग्ये आम्दानी लिन सकिने उनको भनाइ छ ।
सोही ठाउँका बन्धु रानाले पनि तरकारीखेतीबाट सहजै जीविकोपार्जन भइरहेको बताए। आठ कठ्ठा जग्गामा ३५ वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएको बन्धुले सबै खर्च कटाएर वार्षिक रु तीन लाखसम्म आम्दानी हुने गरेको जानकारी दिए ।
उनले भने, “तरकारीखेतीबाट घरखर्च राम्रै चलेको छ, दैनिक खर्चका लागि अरुसँग ऋण माग्नु पर्दैन । दश जनाको परिवारको सबै खर्च यसैबाट भइरहेको छ । दैनिक रु एक हजारदेखि रु एक हजार पाँच सयसम्म तरकारी बिक्री हुन्छ ।”
भारतबाट आउने तरकारी सस्तोमा पाइने भएकाले उपभोक्ताले सस्तो मूल्यमा किन्ने भन्दै सोही कारणले बजारीकरणको समस्या रहेको बन्धुले बताए। “स्थानीय सरकारले भारतबाट आउने तरकारी रोक्नु पर्छ, यसरी यहाँका स्थानीय मर्कामा परिरहेका छन्”, उनले भने। समयमा मल पाउन सके तरकारीखेती गर्न अझै सहज हुने उनको भनाइ छ।
पछिल्लो समय मटियारीका अधिकांश किसानले व्यावसायिक तरकारीखेती गर्दै आएका छन्। यहाँका किसानका लागि तरकारीखेती जीविकोपार्जनको राम्रो स्रोत बनेको छ । तरकारीखेतीबाट घरव्यवहार चलाउन सहज भएको किसान बताउँछन् ।










आजदेखि बाघ गणना हुँदै
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
काँग्रेसद्वारा प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया