सति घाटमा पक्की पुल नहुँदा सास्ती भोग्दै नागरिक

भोजपुर । भोजपुर-सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा स्थानीयलाई समस्या भएको छ । उत्तरी क्षेत्रबाट बाह्य जिल्ला प्रवेश गर्ने मुख्य नाकाका रूपमा रहेको यो स्थानमा पक्की पुल नहुँदा नागरिकले बर्सेनि दुःख भोग्दै आएका छन् ।
वैकल्पिक उपायको रूपमा यहाँ करिब छ वर्षअघिबाट फेरी सञ्चालन गरिएको छ । तर विभिन्न प्राविधिक समस्या, हावाहुरी तथा पानीको बहाव बढेसँगै फेरी बन्द हुने भएकाले समस्या झेल्नु पर्ने स्थानीयवासीको भनाइ छ । अरुण नदीमा पक्की पुल नहुँदा उत्तरी क्षेत्रको व्यापारिक केन्द्रको रूपमा रहेको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकले वषौँबाट समस्या भोग्दै आएका छन् । सतिघाटमा पक्की पुल निर्माणको लागि राज्यले ध्यान दिन आवश्यक रहेको स्थानीयवासी नवीन कार्कीले बताए ।
“अरुण नदीमा पुल नहुँदा सिंगो उत्तरी क्षेत्रका नागरिकलाई समस्या छ” उनले भने, “नदीवारी षडानन्द क्षेत्रमा सडक कालोपत्र बन्दैछ । तर विडम्बना अरुण नदीमा पुल नै छैन । यो नदीमा पुल बनिदिए हाम्रो क्षेत्रको विकासमा टेवा पुग्ने थियो ।” बर्खा समयमा पानीको बहाव बढेपछि पूर्ण रूपमा फेरी बन्द हने भएकाले झोलुंगे पुलबाट नै आवतजावतसँगै पिठ्यूँमा बोकेर सामान ओसार्नुपर्ने बाध्यात्मक अवस्था रहेको उनको भनाइ छ।
“सतिघाटमा पुल बन्छ भन्ने आशामा लामो समय बित्यो” उनले भने, “हालसम्म उत्तरी क्षेत्रबाट यो अरुण नदीको कुनै पनि स्थानमा पक्की पुल छैन । सवारीसाधन तार्ने सबै भन्दा ठूलो विकल्पन नै यही फेरी हो । यो पनि वर्षा सुरु भएपछि बन्द हुन्छ ।”
यहाँ २०७६ सालबाट फेरी सञ्चालनमा आएको हो । विभिन्न प्राविधिक समस्याका कारण यो पनि बेलाबेला बन्द हुने गरेको छ । त्योसँगै पानीको बहाव बढेपछि भने फेरी पूर्णरुपमा बन्द हुने स्थानीयवासीको भनाइ छ । नियमित रूपमा भने करिब ६/८ महिना मात्र फेरी सञ्चालन हुने गरेको छ ।
हिउँदको समयमा नदी पार गराउनको लागि बिहान ७ बजेबाट बेलुका १० बजेसम्म फेरी सञ्चालन हुने गरेको छ । हाल यही फेरीको सहयताबाट षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिक बाह्य जिल्ला आवतजावत गर्दै आएका छन् । फेरीले तत्कालीन समस्या समाधानमा केही राहत मिले पनि स्थायी समस्याको समाधान नरहेको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताए । यहाँ पक्की पुल निर्माणको लागि पहलकदमी गरिरहेको प्रमुख उदासको भनाइ छ ।













कोरला नाकाबाट दुई करोड बढीको भेप बोकेको कन्टेनरसहित चालक नियन्त्रणमा
अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीन महिनाका लागि बन्द
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
Nonagenarian man constructs water facility in Bhojpur school
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया