प्रमुख निर्वाचन आयुक्तका नजरमा जिमी कार्टर

काठमाडौँ । नेपालको लोकतन्त्र र निर्वाचन प्रक्रियामा सहयोग पुर्याउँदै आएको कार्टर सेन्टरका संस्थापक जिमी कार्टरको निधन भएको छ । प्रजातन्त्र, मानवअधिकार र शान्तिका लागि जिमी कार्टरले जीवनपर्यन्त गरेका कार्यहरूको विश्व समुदायबाट स्मरण गरिएको छ ।
संविधानसभाका दुवै निर्वाचनमा स्वयम् उपस्थित भएर उनले निर्वाचन पर्यवेक्षण गरेका थिए । कार्टर सेन्टरले नेपालको लोकतन्त्र र निर्वाचन प्रक्रियामा सहयोग गरेको थियो ।
निर्वाचन र लोकतन्त्रको आधुनिकीकरणको प्रमुख श्रेय कार्टरलाई दिन सकिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया बताउँछन् ।
कार्टर सेन्टरले संविधानसभाका दुवै निर्वाचन र विसं २०७४ को निर्वाचनमा निर्वाचन आयोगलाई सहयोग गरेको थियो । कार्टर सेन्टरले निर्वाचनका लागि आवश्यक प्रविधि, कानुनी र नीतिगत व्यवस्था तथा निर्वाचन पर्यवेक्षणको मापदण्ड बनाउने गरेको उनले बताए ।
प्रमुख आयुक्त थपलियाले भने, ‘कार्टर सेन्टरले संसारभर लोकतन्त्र र निर्वाचनप्रतिको विश्वास अभिवृद्धि गर्ने, समग्र निर्वाचन प्रणालीका असल अभ्यासलाई प्रत्येक देशका निर्वाचन व्यवस्थापन निकायले अनुसरण गर्ने, निर्वाचनलाई पहुँचयोग्य (मताधिकार सुनिश्चित गर्ने) बनाउने र निर्वाचनको माध्यमबाट अन्तर्राष्ट्रिय भाइचारा अभिवृद्धिमा सहयोग पुर्याउँदै आएको छ ।’
पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले कार्टरलाई लोकतन्त्र र प्रजातन्त्रको पिताभन्दा फरक नपर्ने बताए । उनले मानवअधिकार, शिक्षा र प्रजातन्त्रको सन्दर्भमा पनि विश्व समुदायमाझ कार्टरको ठूलो योगदान रहेको उल्लेख गरे । ‘अमेरिकाको मात्रै नभई संसारभरको लोकतन्त्र सुदृढीकरणमा कार्टरको योगदान थियो’, उनले भने ।
प्रमुख निर्वाचन आयुक्त उप्रेतीले संविधानसभाका दुवै निर्वाचनको पर्यवेक्षणका सन्दर्भमा कार्टर नेपाल आउनुभएको स्मरण गरे । ‘विश्व र नेपालका लागि उहाँ प्रजातन्त्रको प्रतिनिधि, पुजारी र गुरु हुनुहुन्थ्यो”, उनले भने, ‘लोकतान्त्रिक र प्रजातन्त्रिक प्रक्रियामा पालना गर्नुपर्ने विधि, प्रक्रिया र पद्धतिका लागि पवित्र भएर लाग्न जिमी कार्टरको प्रेरणालाई व्यवहारमा प्रयोग गर्न सकियो भने उहाँप्रति सम्मान गरेको ठहर्छ ।’
अमेरिकाको ३९औँ राष्ट्रपति कार्टरको एक सय वर्षको उमेरमा निधन भएको हो । उनले आफ्नो जीवनलाई विश्वव्यापी मानवतावादीका रूपमा परिभाषित गरेका थिए । शान्ति स्थापना, नागरिक र मानवअधिकारलाई अगाडि बढाउन, स्वतन्त्र र निष्पक्ष चुनावलाई बढावा दिने कार्यमा विश्व समुदायबाट कार्टरको भूमिकाबारे प्रशंसा हुँदै आएको छ ।










‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’
यस्तो छ आजको मौसम पूर्वानुमान
उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया