शुक्रबार, वैशाख २५, २०८३

दुरुस्तै इन्स्पेक्टर बनेर उच्च पदस्थ व्यक्तिसँग चिनजान गर्दै ठग्दै

मेरोन्यूज २०८१ पुष २२ गते १९:४७

काठमाडौं । प्रहरीले आफ्नै विभागीय संगठनको प्रहरी निरीक्षक हुँ भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

Advertisement
NiccNicc

पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-७ थापा चोकका ३८ वर्षीय सुदीप थापा छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले थापालाई शनिबार थापा चोकबाटै पक्राउ गरेको हो।

उनले प्रहरीको इन्स्पेक्टर हुँ भन्दै क्यानडा, अस्ट्रेलिया लगायत देशमा पठाइदिने भनेर ठगी गरेको उजुरी परेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

उनका अनुसार थापाले प्रहरी निरीक्षक पदको बर्दी नै लगाएको फोटो खिचेर उच्च पदस्थ व्यक्तिहरूसँग सम्पर्क बढाएका थिए।

थापाले प्रहरी निरीक्षकको नककली परिचय पत्र समेत बनाएको भेटिएको छ। पोशाक लगाएको फोटो चार थान बरामद गरिएको आचार्यले बताए।

उनको साथबाट प्रहरीले विशेष बढुवा सिफारिस सूची प्रकाशित गरिएको पत्र नै बरामद भएको आचार्यले बताए।

थापाले के कति रकम ठगी गरेको भन्ने प्रहरीले यकिन गरिसकेको छैन।  प्रहरीले थापालाई परिचय पत्र किर्ते बनाउने कार्यमा संलग्न काठमाडौं कोटेश्वर-३२ स्थित मार्सल प्रिन्टिङ प्रेसका सञ्चालक किशोरकुमार चौधरीलाई पक्राउ गरेको छ।

दुबैलाई थप अनुसन्धान तथा कारबाहीको लागि आइतबार जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको छ।

प्रतिक्रिया