डडेलधुराको आलितालमा ४८ प्रजातिका जलपन्छी

कञ्चनपुर। डडेल्धुराको आलिताल गाउँपालिका–३ स्थित आलितालमा पहिलो पटक जलपन्छी गणना गरिएको छ ।
नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)का चराविज्ञ हिरुलाल डगौरासहितको गणकहरुले डिभिजन वन कार्यालय डडेल्धुराको समन्वयमा ताल क्षेत्रमा जलपन्छी गणना गरेका हुन् ।
ताल क्षेत्रमा ४८ प्रजातिका जलपन्छी देखा परेको चराविज्ञ डगौराले बताए । उनका अनुसार तालमा मुख्यगरी ठूलो जलेवा, सानो जलेवा, डुबुल्की हाँस, खडखडे हाँस, विश्वमै दुर्लभ मालक हाँसलगायत चराहरु देखिएका छन् । ताल आसपासमा चराहरुको अध्ययन बाँकी रहेको उनले बताए ।
“पहिलोपटक ताल क्षेत्रमा जलपन्छी गणना गरेका छौँ,” डगौराले भने, “रैथाने र आगन्तुक जलपन्छीबारे अध्ययन सुरु गरेका छौँ ।” ताल क्षेत्रमा एक वर्षसम्म अध्ययन र अवलोकनपश्चात् ताल क्षेत्रमा कुन प्रजातिका कति चराहरु रहेको भन्नेबारे जानकारी हुने उनले उल्लेख गरे । हाल ताल क्षेत्र र वरिपरिका चराको मात्रै अभिलेख राखिएको उनको भनाइ छ ।
आलिताल समुद्री सतहबाट आठ सय मिटर उचाइमा छ । यस तालको लम्बाइ एक हजार एक सय ७५ मिटर र चौडाइ करिब चार सय मिटर रहेको छ । यहाँ चरा संरक्षण गर्न गाउँपालिकाले एकजना हेरालुको व्यवस्था गरेको छ । चरा अवलोकन गर्न र तालको सौन्दर्य अवलोकन गर्न पर्यटक यहाँ आउने गरेका छन् ।
नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन) का गणकहरुले कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थित जाखोर तालसँगै महादेवा तालमा पनि जलपन्छी गणना गरेका छन् । तालमा कैले टाउके हाँस, मालक हाँस, सिजुरी, सुनगजुरेलगायत चराका बथान देखिएको उनको भनाइ छ ।
घोडाघोडी नकरोडताल, रखौना, सोनियाँ रुपियाँ, घोरताल, पुरैना, जम्नेहटा, चम्रहिया, कोइलही ताल र कर्णाली जलाधार क्षेत्रमा जलपन्छी गणना गरिने बताइएको छ । अन्य ताल तलैया र नदीमा जलपन्छी गणना भइरहेको छ । कञ्चनपुरको पुरैनी तालमा ५५ प्रजातिका जलपन्छी भेटिएका छन् ।
उत्तरी धुव्र रुस, चीन, मङ्गोलियालगायत अत्यधिक चिसो हुने क्षेत्रहरुबाट हजारौँको सङ्ख्यामा चरा जाडो छल्न अनुकूल वातावरण र प्रचुर मात्रामा खानेकुराको खोजीमा यहाँका विभिन्न तालतलैया, नदी र वनजङ्गल क्षेत्रमा आउने गर्दछन् ।
















चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया