आज जैविक विविधता दिवस मनाइँदै

ललितपुर । ‘स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता’ भन्ने मूल नाराका साथ तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागिएको छ । कृषि विभागले यही माघ पहिलो साताभर विविध कार्यक्रम आयोजना गरी तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागेको हो ।
विसं २०७९ भदौ २७ गते मन्त्रिपरिषद्बाट प्रत्येक वर्षको माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसका रूपमा मनाउने निर्णयबमोजिम यो वर्ष पनि कृषि विभागले विविध कार्यक्रम गरी दिवस मनाउन लागेको सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
माघको पहिलो साताभर मनाइने उक्त दिवसले नेपालमा परम्परागत रूपमा रहेका अनेकौँ जातजाति, धार्मिक एवं सांस्कृतिक परम्परासँग सम्बन्धित कृषि र खानाका प्रकार तथा सम्बद्ध सीपको जगेर्ना गर्न मद्दत पुर्याउनुका साथै स्थानीय कृषि आनुवंशिक स्रोतहरूको संरक्षण एवं दिगो उपयोग, वातावरण संरक्षणमा टेवा पुर्याउने अपेक्षा गरिएको कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले बताए ।
कृषि जैविक विविधताको महत्वसहित यसको संरक्षणबारे जनचेतनामूलक कार्यक्रमको आयोजना गरिनुका साथै प्रादेशिक निकाय, स्थानीय तहलगायत सरकारी तथा गैरसरकारी संस्थालाई कार्यक्रम सञ्चालन गरी दिवस मनाउन पत्राचार गरिएको उनले जानकारी दिए ।
यसको महत्वबारे सर्वसाधारणमा जनचेतना जगाई दिगो संरक्षण तथा उपयोगमा टेवा पु¥याउने, तीनै तहका सरकारको विकास, नीति एवं कार्यक्रममा कृषि जैविक विविधतालाई मूल प्रवाहीकरण गर्ने, दिगो रूपमा कृषि जैविक विविधता संरक्षण र उपयोगका लागि उपयुक्त विधि एवं पद्धतिहरूको विकास, अवलम्बन प्रक्रियालगायत उद्देश्यसहित दिवस मनाइने विभागका महानिर्देशक सञ्जेलले उल्लेख गरे ।
जैविक विविधतामा आधारित रहेर कृषि आनुवंशिक स्रोतहरू, कृषिबाली एवं सम्बन्धित जङ्गली प्रजाति, घाँसेबाली, पशुपन्छी, मत्स्य एवं जलीय आनुवंशिक स्रोत, कृषि महत्वका कीरा र कृषि महत्वका सूक्ष्म जीव र कृषकका परम्परागत ज्ञानको संरक्षणमार्फत स्वस्थ जीवनयापनका लागि उपयुक्त पर्यावरण बनाउन सचेतना अभिवृद्धिसहित सप्ताहव्यापी रूपमा विविध कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए । दिवस मनाउन सातै प्रदेश मातहतका निकाय र सबै स्थानीय तहका कृषक समूहलगायत सरोकार भएका निकायलाई कृषि विभागले आह्वान गरेको छ ।
कहाँ केके कार्यक्रम हुँदैछन् ?
आज कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्रीबाट शुभकामना सन्देश सम्प्रेषण हुनेछ । आजै कृषि जैविक विविधता संरक्षण र दिगो उपयोगका बारेमा टेलिभिजन संवाद कार्यक्रम गरिने, कृषि जैविक विविधता मेला भूमिकास्थान नगरपालिका, अर्घखाँचीमा सञ्चालन हुनेछ भने टोखा नगरपालिकामा जैविक विविधता दिवस तथा माघे सङ्क्रान्ति मेला आयोजना हुने विभागले जनाएको छ ।
माघ २ गते कृषि विभाग परिसर हरिहर भवन ललितपुरमा राष्ट्रिय कृषि जैविक विविधता दिवस मूल समारोहसँगै कृषि जैविक विविधता एवं परम्परागत कृषिउपज प्रदर्शनी र सम्मान एवं पुरस्कार वितरण हुनेछ । सोही दिन भूमिकास्थान नगरपालिकामा कृषि जैविक विविधता अभिलेखीकरणसम्बन्धी अन्तरक्रिया आयोजना हुनेछ ।
माघ १ देखि ७ गतेसम्म सिराह, सप्तरी र सुर्खेत जिल्लाका विभिन्न स्थानीय तहमा कृषि वैविक विविधता संरक्षण, प्रवर्द्धन र सोसम्बन्धी कृषक पाठशाला सञ्चालनबारे अन्तरक्रिया हुनेछ । माघ १ गतेदेखि ७ गतेसम्म मौलिक भान्छाघर, नयाँ बानेश्वरमा सातै प्रदेश विशेषका मौलिक खाद्य परिकार प्रवर्द्धन वर्ष शुभारम्भ र मौलिक परिकार प्रदर्शन एवं बिक्री गरिनेछ ।
माघ १ गतेदेखि ७ गतेसम्म कैलाली, कञ्चनपुर, बर्दिया, दैलेख, सुर्खेत, जुम्ला, सिन्धुपाल्चोक र कास्कीलगायतका जिल्लामा कृषि जैविक विविधता मेला तथा प्रदर्शनी, कृषि जैविक विविधताको महत्वसम्बन्धी अन्तरक्रिया र माध्यमिक तहका विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता सञ्चालन हुने विभागका महानिर्देशक सञ्जेलले उल्लेख गरे ।
माघ ५ गते रैथाने कृषि हाटबजार दरबार मार्गमा ‘रैथाने सबैका लागि, सदाका लागि’ विषयक छलफल तथा प्रदर्शनी आयोजना हुनुका साथै माघ ५ र ६ गते ललितपुरको कोञ्जोस्योम गाउँपालिका–३ दलचोकीमा ‘दलचोकी सामुदायिक बीउ बैंक तथा कृषि जैविक विविधता सूचना केन्द्र’को उद्घाटन तथा अन्तरक्रिया आयोजना गरिने उनले जानकारी दिए ।
माघ ७ गते सङ्खुवासभाको भोटखोला गाउँपालिकामा कृषि जैविक विविधताको महत्वबारे अगुवा किसान अभिमुखीकरण कार्यक्रम सञ्चालन हुनेछ । सोही दिन कपनमा कृषि जैविक विविधता एवं मौलिक खाद्य परिकारको महत्वबारे अन्तरक्रिया एवं तेस्रो राष्ट्रिय कृषि जैविक विविधता सप्ताह समापन कार्यक्रम आयोजना गरिने विभागका महानिर्देशक सञ्जेलले जानकारी दिए।













भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण
आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु
बुद्ध एयर जहाज दुर्घटना अपडेट : सहचालक सहित सात यात्रु सामान्य घाइते
विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलरको भाउ निरन्तर उकालो
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रतिक्रिया