देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो

धरान (सुनसरी) । धनु राशिबाट सूर्य मकर राशिमा प्रवेश गर्ने दिन आज पवित्र धामका रुपमा परिचित बराहक्षेत्र, देवघाट, रिडी, त्रिवेणी, गोदावरी धाम, कालीगण्डकीलगायत नदीमा मकर सङ्क्रान्ति स्नान गर्ने भक्तजनको भीड लागेको छ ।
आज उत्तरायण सुरु हुने दिन भएकाले स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिने भएकाले बिहानदेखि यी क्षेत्रमा भक्तजनको भीड लागेको हो । सुनसरीको प्रसिद्ध तीर्थस्थल बराहक्षेत्र–१ चतराधामस्थित बराहक्षेत्र मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
सोमबार साँझदेखि नै धामी–झाँक्रीसहित ठूलो सङ्ख्यामा भक्तजन स्नान गर्न र पूजापाठ गर्न आएको बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले जानकारी दिए । यहाँ पूजा गर्न र मकर स्नान गर्न मुलुकका विभिन्न स्थानसँगै भारतको विहार, पश्चिम बङ्गाल, सिक्किमसँगै भूटानबाट समेत हिन्दू धर्मावलम्बीहरु आउने गरेको गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रवि श्रेष्ठले बताए।
यसैबीच कालीगण्डकीअन्तर्गत पर्वतको प्रसिद्ध धार्मिकस्थल मोदीवेणी, सेतीवेणी, पुर्तिघाट, जैमिनीघाट, नयाँपुललगायत स्थानमा बिहानदेखि भक्तजनको भीड लागेको छ । बिहानै कालीगण्डकीमा स्नान गरी तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
पर्वत सदरमुकाम कुश्माबजार, फलेवास, शालिग्रामलगायतका स्थानबाट भक्तजन स्नान गर्न आइपुगेका हुन् । पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीमा आज विशेष मेला लागेको छ । यहाँ विश्वकै ठूलो शालिग्राम शिलाको दर्शन गर्न र स्नान गर्न भक्तजनको भीड लागेको स्थानीय तिलक पराजुलीले जानकारी दिए।
त्यसैगरी, पवित्र देवभूमि—वेदभूमिको प्रवेशद्वार मानिने कैलालीको गोदावरीधाममा ‘बाह्रराशि दर्शन मकर मेला’ प्रारम्भ भएको छ । बाह्रराशि दर्शन मेला हुने भएपछि गोदावरीधाम क्षेत्रमा भक्तजनहरुको चहलपहल बढेको छ । गोदावरी नगरपालिकाले भक्तजनका लागि बस सेवा उपलब्ध गराएको छ ।
आजदेखि यही माघ १२ गतेसम्म १२ दिवसीय बाह्रराशि दर्शन मकर मेला सुरु भएको आयोजक गोदावरीधाम विकास समितिका अध्यक्ष पदमराज जोशीले बताए। सुदूरपश्चिम प्रदेशका सातवटा पहाडी जिल्लाको मुख्य प्रवेशद्वार, चुरे पहाडको फेदमा रहेको यो क्षेत्रलाई सप्त गोदावरीमध्येको प्राचीन गोदावरीका रुपमा लिने गरिन्छ । यहाँ पवित्र गोदावरी नदी, मठमन्दिर, धर्मशाला र बौद्ध गुम्बा छन् । यो क्षेत्रमा भगवान् श्रीकृष्णले स्नान गरेको स्कन्द पुराणमा उल्लेख छ ।













आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु
बुद्ध एयर जहाज दुर्घटना अपडेट : सहचालक सहित सात यात्रु सामान्य घाइते
विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलरको भाउ निरन्तर उकालो
पुस १९ गते शनिबारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रतिक्रिया