बुधबार, वैशाख १६, २०८३

भोजपुरको पौवादुङमा बाह्य पेय पदार्थ बेचबिखनमा रोक

मेरोन्यूज २०८१ माघ ३ गते १०:२५

भोजपुर । दोस्रो पौवादुङमा गोल्ड कप र बृहत् माघी मेलामा आयातित खानेकुरामा निषेध गरिएको छ । स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने लक्ष्यले आयातित पत्रु खानेकुरामा रोक लगाइएको पौवादुङमा गाउँपालिकाले जनाएको छ । मेलामा स्थानीय उत्पादन कोदो, मकै, गहुँ फापर, भुटेको मकै मुन्द्रुक, इस्कुसको तरुल, घर तरुललगायतका परिकार मात्र बिक्री वितरणको लागि खुला गरिएको छ । त्यस्तै बाह्य पेय पदार्थलाई निषेध गरेर स्थानीयस्तरमा पाइने मही, दही, एभोकाडोको जुस, सुन्तलाको जुस मात्र बिक्री वितरण भइरहेको छ ।

Advertisement
NiccNicc

प्रतियोगिता तथा माघी मेलामा पत्रु खाना (जङफुड) निषेध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । गाउँपालिकाले पत्रुखानालाई निरुत्साहित गर्ने लक्ष्यका साथ काम गरिरहेकाले यस्ता खालका खानाको बिक्री वितरणमा रोक लगाइएको उनको भनाइ छ ।

‘प्रतियोगिता र मेला अवधिभर आयातित खानेकुराको बेचबिखनमा रोक लगाएका छौँ’, उनले भने, ‘हामीले स्थानीयस्तरमा पाइने खानेकुरालाई मात्र बिक्री वितरणका लागि अनुमति दिएका छौँ । यसले स्थानीय उत्पादनको प्रवर्द्धनमा टेवा पुग्नेछ ।’

गोल्डकप तथा मेलाको उद्घाटन गर्दै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले गोल्ड कप तथा माघी मेला सञ्चालनले खेल क्षेत्रको विकाससँगै आन्तरिक पर्यटनमा टेवा पुग्ने बताए । निर्माणाधीन रङ्गशालालाई पूर्णता दिन बजेट व्यावस्थापनमा पहल गर्ने उनले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने द्वितीय हने टिमले नगद दुई लाख मेडल र प्रमाणपत्र पाउने पौवादुङमा आयोजक समितिका अध्यक्ष चोलप्रसाद आलेले जानकारी दिए । प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ । मेला र प्रतियोगिता यही माघ १० गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया