बुधबार, चैत ४, २०८२

चिसो बढेपछि बाँकेका ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिँदै

मेरोन्यूज २०८१ माघ ९ गते १२:४१

नेपालगञ्ज (बाँके । केही दिनयता नेपालगञ्ज र आसपासका क्षेत्रमा शीतलहरसहित चिसो बढेपछि स्थानीय तहले ज्येष्ठ नागरिकलाई लक्षित गरी कम्बल वितरण सुरु गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

आठ स्थानीय तह रहेको बाँकेका सम्बन्धित स्थानीय तहसँगको समन्वयमा पालिकाका विभिन्न चोकमा दाउरा बालेर आगो ताप्ने प्रबन्ध गरिएको जिल्ला विपद् व्यवस्थापन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

जिल्लाको कोहलपुर नगरपालिकाका सबै वडाका एक सय ४० स्थानमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाइएको बताउँदै उनले विभिन्न पालिकामा हालसम्म चार सय ७५ कम्बल वितरण गरिएको उल्लेख गरे ।

“कम्बल वितरण ज्येष्ठ नागरिकलाई लक्षित गरेर विपद् व्यवस्थापन समितिबाट उपलब्ध गराइएको हो । विगत पाँच दिनदेखि यसलाई अभियानका रूपमा सञ्चालन गरिरहेका छौँ”, ज्ञवालीले भने, “अझै केहीदिन कम्बल वितरणलाई निरन्तरता दिनेछौँ । कतिपय ठाउँमा आज पनि कम्बल र दाउरा वितरण भइरहेका छन् ।” जानकी गाउँपालिकामा तीन सय ५० कम्बल वितरण भएको जानकारी दिँदै उनले पालिकाका छ वडामा दाउरासमेत वितरण भइरहेको बताए ।

केही दिनअघि बसेको जिल्ला विपद् व्यवस्था समितिको बैठकले जिल्लास्थित वन डिभिजन कार्यालयसँग सहुलियत दरमा दाउरा खरिद गरेर चिसोमा आगो ताप्ने प्रबन्ध गर्ने निर्णय गरेको थियो । अहिलेसम्म चिसो बढेपछि करिब ६० क्विन्टल दाउरा खरिद गरी जिल्लाका विभिन्न स्थानीय तहमा वितरण भएको छ ।

सूचना अधिकृत ज्ञवालीले अझै सबै पालिकामा वितरण भएको कम्बल र दाउराको विवरण सङ्कलन नभएको उल्लेख कतिपय पालिकामा केही दिनसम्म यो अभियानले निरन्तरता पाउने जानकारी दिए । अपुग भएमा थप पाँच सय कम्बल खरिद गरी पुनः वितरण गरिने उनले बताए ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले स्थानीय तहबाट लक्षित समुदायलाई कम्बल वितरण भइरहेको उल्लेख गर्दै चिसो बढेपछि निजी तथा सरकारी विद्यालय बन्द भएको जानकारी दिए ।

प्रतिक्रिया