बहुउद्देश्यीद्वारा सञ्चालित १० कम्पनीको २० करोड राजस्व उठ्न बाँकी

चितवन । भारतीय र चिनियाँ नागरिकले जिल्लामा लगानी गरेका १० वटा कम्पनीले झन्डै २० करोड राजस्व नतिरेपछि आन्तरिक राजस्व कार्यालय भरतपुरले असुलीका लागि ताकेता सुरू गरेको छ ।
राजदूतावासको सिफारिसमा राजस्व कार्यालयमा दर्ता भएका ती कम्पनीमध्ये एउटा चिनियाँ नागरिकको र नौवटा भारतीय नागरिकले सञ्चालन गरेका कम्पनी हुन् । ती कम्पनीको १९ करोड ८८ लाख राजस्व बक्यौता रहेको छ । १० लाखभन्दा बढी राजस्व बुझाउनुपर्ने भएपछि कार्यालयले राजस्व विभागमा पत्राचार गरेको छ ।
कार्यालयका कर अधिकृत युवराज खड्काका अनुसार ती कम्पनीको राजस्व उठाउने विषयमा माघ पहिलो साता विभागलाई पत्राचार गरिएको हो । पटक पटक ताकेता गर्दा पनि सञ्चालक सम्पर्कमा नआएपछि विभागलाई पत्राचार गरिएको हो । चिनियाँ नागरिकले सञ्चालन गरेको चाइना सिचुवान इन्टरनेसनल कर्पोरेसन कम्पनीले १९ लाख आयकर बुझाउन बाँकी रहेको छ ।
अन्य नौवटा भारतीय नागरिकद्वारा सञ्चालित कम्पनीले १९ करोड ६९ लाख राजस्व बुझाउन बाँकी रहेको छ । जसमध्ये पाँच करोड ६२ लाख मूल्य अभिवृद्धि कर (भ्याट) तर्फको हो भने १४ करोड ६ लाख राजस्व आयकरतर्फको रहेको खड्काले जानकारी दिए । दैनिक रूपमा जरिवाना र ब्याज बढ्ने हुँदा दिनानुदिन रकम थपिँदै गएको छ ।
विदेशी नागरिकले यहाँ कम्पनी दर्ता गरेर काम गर्दा पासपोर्ट, राजदूतावासबाट ल्याइएको पत्र र केही रकम धरौटी राखेर काम गर्ने गर्दछन् । उनीहरूको अचल सम्पत्ति पनि यहाँ नहुने र कतिपयले बैङ्किङ कारोबार पनि नगर्ने गर्दा राजस्व उठाउन कठिन भएको उनले जानकारी दिए । खड्काका अनुसार बक्यौता असुल गर्न कठिन भएपछि विभागसँग आवश्यक निर्देशन मागिएको हो । यस्ता कम्पनीहरू अधिकांश कबाडी सङ्कलन गर्ने रहेका छन् ।
दशवटा कम्पनीमध्ये सबैभन्दा बढी नवदुर्गा ट्रेडर्सले १४ करोड ६८ लाख ५५ हजार तीन सय ४५ राजस्व बुझाउन बाँकी रहेको छ । भारतीय नागरिक विजली चौधरीका नाममा रहेको सो कम्पनीले आर्थिक वर्ष ०७५/७६ र ०७३/७४ को आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) रकम राजस्व बुझाउन बाँकी रहेको हो ।
कार्यालयका कर अधिकृत खड्काका अनुसार भ्याटबाट चार करोड १५ लाख ५६ हजार दुई सय १६ र आयकरतर्फ १० करोड ५२ लाख ९९ हजार ९९ राजस्व बुझाउनुपर्ने हुन्छ । उनका अनुसार नक्कली बीजक सम्बन्धमा कार्यालयले अनुसन्धान गरी सो रकम बराबरको राजस्व तिर्न बाँकी रहेको देखिएको हो । यस कम्पनीलाई आन्तरिक राजस्व विभागले विसं २०८१ वैशाख ३० गते कर निर्धारण गरेको थियो । जसमध्ये अहिलेसम्म दुई लाख मात्रै बुझाएको खड्काले जानकारी दिए ।
कार्यालयले आर्थिक वर्ष ०७५/७६ र ०७३/७४ मा ६८ जना करदातालाई नक्कली बीजकमा अनुसन्धान गरेको थियो । उनीहरूबाट एक अर्ब २१ करोडभन्दा बढी राजस्व उठाउन बाँकी रहेको उनले बताए ।
















Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
थलापति विजय तमिलनाडुको मुख्यमन्त्री
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
प्रतिक्रिया