परम्परागत बाली प्रवर्द्धन गर्न खाना महोत्सव

बाजुरा । परम्परागत बालीको प्रवर्द्धन र संरक्षण गर्न बडीमालिका नगरपालिका–८ मा रहेका मालिका नमूना माध्यमिक विद्यालयले परम्परागत खाना महोत्सव आयोजना गरेको छ ।
नगरपालिका कृषि शाखाको आर्थिक सहयोगमा विद्यालयले स्थानीयस्तरमा लगाइने परम्परागत बालीको संरक्षण र प्रवर्द्धन गर्दै बालीको महत्व झल्काउने गरी परम्परागत खाना महोत्सव सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।
खाना महोत्सवमा विद्यार्थीले स्थानीयस्तरमा उत्पादन भएका पराम्परागत बाली कोदो, मकै, जौँ, कागुनो, भटमास, केराउ, फापरलगायत बालीबाट विभिन्न रैथाने खानाका परिकार उत्पादन गरेका छन् । विद्यालयको खेलमैदानमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीले आठ प्रदर्शनी कक्ष निर्माण गरेर स्थानीय परम्परागत बालीका १४ स्थानीय खानाका परिकार उत्पादन गरेर महोत्सव सञ्चालन गरेका हुन् ।
महोत्सवले स्थानीय परम्परागत खानाको बजारीकरण र खानाको राष्ट्रियस्तरसम्म प्रचारप्रसार तथा प्रवर्द्धनका लागि सहयोग पुग्ने बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्काले बताए । उनले स्थानीयस्तरमा खेतीका रूपमा प्रयोग हुँदै आएको फापर, कोदो, कागुनोलगायत बालीको प्रवर्द्धन र उक्त बालीको बजारीकरण गर्नेगरी गरिएको महोत्सवले पालिकालाई थप टेवा पुग्ने छ भने ।
महोत्सवमा विद्यार्थीले परम्परागत बालीबाट उत्पादन गरेका खानाका परिकारले आगामी दिनमा स्थानीयस्तरमा उत्पादन हुने बालीको प्रवर्द्धन विकासमा सहयोग हुने नगर उपप्रमुख नन्दाकुमारी थापाले बताइन् । उनले विद्यार्थीले पढ्दै, सिक्दै कार्य गरेकामा प्रशंसा गरिन् ।
महोत्सवस्थलमा नगरप्रमुख अमरबहादुर खड्का नेतृत्वको टोलीले विद्यार्थीले परम्परागत बालीबाट उत्पादन गरेका जेरी, कोदोको मःम, पकौडा, खिर, दालमोठ, पुरीलगायत विभिन्न खानाका परिकारको अवलोकन गरेको थियो ।
बालबालिकाले बनाएका परिकारलाई बजारीकरण र उनीहरूको सीपलाई प्रोत्साहन गर्न नगरपालिकाले सीप विकासका कार्यक्रम सञ्चालन गर्ने नगरप्रमुख खड्काले प्रतिबद्धता जनाए । यहाँका सामुदायिक विद्यालयमा पढ्दै सिक्दै कार्यक्रम सञ्चालन गरी विद्यार्थीलाई आत्मनिर्भरका कार्यमा अग्रसरता गराउन नगरपालिका लाग्ने उनको भनाइ छ ।
















विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया