बुधबार, फागुन २८, २०८१

विश्वका १५० करोड मानिसकाे पेटमा किरा, कसरी थाहा पाउने किरा भएकाे ?

मेरोन्यूज २०८१ माघ १८ गते १२:०९

काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)काे एक रिपाेर्टका अनुसार विश्वमा १५० करोड मानिसकाे पेटमा किरा छ । यसको मतलब विश्वको सम्पूर्ण जनसंख्याको २४ प्रतिशतमा यो समस्या छ।

सामान्यतया, सरसफाइको पालना नगर्ने र फाेहाेर स्थानमा बस्ने मानिसहरू यसकाे जाेखिममा हुन्छन् । जसमा धेरैजसो बालबालिका छन्।

बालबालिकाहरू सरसफाइप्रति पूर्णतया अनभिज्ञ हुन्छन् । आफ्नो औंला चुस्ने, जे भेट्याे त्यही आफ्नो मुखमा राख्ने चपाउने उनीहरुकाे हर्कत हुन्छ। जसले गर्दा उनीहरुको पेटमा फोहोर पुग्छ र उनीहरुमा किराको संक्रमण हुन्छ ।

पेटमा हुने किराले हामीले खाने खाना खान्छ । त्यसैले पेटमा किरा भए शरीरमा पोषणको कमी हुन्छ । यसले एनीमिया, तौल घट्ने वा कमजोरी हुन सक्छ। प्रतिरक्षा प्रणाली कमजोर हुन सक्छ र धेरै रोगहरूको जोखिम बढ्न सक्छ।

पेटमा किरा भएकाे कसरी थाहा पाउने ?

पेटमा धेरै किसिमका किरा हुन्छन् । यी मध्ये लगभग ३० प्रतिशतमा, कुनै लक्षण देखिँदैन। कसै-कसैलाई मलद्वार वरपर चिलाउने समस्या हुन्छ। बच्चाहरू सुत्दा मलद्वार वरिपरि बारम्बार चिलाउने, अलमल हुने र सुत्न नसक्ने महसुस भएमा पेटमा किरा लागेकाे हुन् सक्छ।

बच्चाहरूले आफ्ना लक्षणहरू व्याख्या गर्न सक्षम हुँदैनन्। त्यसैले यस्ताे अवस्थामा अभिभावकले ध्यान दिनुपर्छ । यदि बच्चाले कम खाइरहेको छ, अक्सर पेट दुखेको र तौल घटिरहेको छ भने, पेट किरा हुन सक्छ। यस बाहेक यी लक्षण पनि हुन्छन् ।

१) पेट दुख्ने
२) उल्टी हुने
३) छाला चिलाउने
४) कब्जियत
५) थकान र कमजाेरी
६) वजन घट्दै जानु
७) बारम्बार भाेक लाग्नु वा भाेक नलाग्नु

यसको उपचार के हो ?

पेटको कीराको उपचार गर्न केही जुकाको औषधि दिइन्छ। जसका कारण किरा मरेर दिसासँगै बाहिर निस्कन्छ ।

यसका लागि मेबेन्डाजोल, अल्बेन्डाजोल, पाइपराजिन जस्ता जुकाको औषधि दिइन्छ। सरकारले बालबालिकालाई यी औषधि निःशुल्क वितरण गर्दै आएको छ ।

पेटमा कीरा लागेमा घरमै लसुन, नरिवलको तेल र दालचीनी खान सकिन्छ। जसले गर्दा पेटमा हुने किरा मरेर दिसासँगै बाहिर निस्कन्छ ।

यसबाट बच्न के गर्ने ?

पेटको किराबाट बच्न चाहनुहुन्छ भने सरसफाई नै उत्तम उपाय हो । बालबालिकामा यो समस्या प्रायः हुने भएकाले उनीहरुको सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

यसबाहेक यी साबधानी अपनाउन सकिन्छ

१) केही खानु वा पकाउनु अघि हात धुने, अरु समय पनि बारम्बार धाेइरहने
२) खाना र पानीकाे सरसफाइमा ध्यान दिने
३) खाना हाल्नुअघि भाँडा सफासँग पुछ्ने
४) स्ट्रिट फुड वा खुला स्थानमा राखिएका कुनैपनि कुरा नखाने
५) फलफुल र तरकारी सँधै धाेएर मात्र खाने
६) ओछ्यानकाे सरसफाइमा विशेष ध्यान दिने

-दैनिक भास्करबाट

प्रतिक्रिया