बिहीबार, चैत २६, २०८२

देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो

मेरोन्यूज २०८२ चैत २५ गते २०:२५

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारका विषयमा सम्पत्ति सम्बन्धी भ्रामक र झुटा प्रचारबाजी गरिएको बताएका छन्। 

Advertisement
nepal life insurencenepal life insurence

बुधबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै देउवाले सञ्चार माध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन्। उनले भनेका छन्, ‘म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने जानकारी सञ्चारमाध्यमबाट थाहा पाएँ।’

आफू र आफ्नो परिवारको सम्पत्तिलाई लिएर झुटा प्रचारबाजी भइरहेको उनले जनाएका छन्। ‘म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु,’ देउवाले भनेका छन्। 

सार्वजनिक पदमा रहँदा सम्पत्तिबारे सरकारी निकायलाई जानकारी गराइसकेको उनले स्मरण गराएका छन्। देउवाले भनेका छन्, ‘नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु।’

सिंगो जीवन नै लोकतान्त्रिक शासन व्यवस्थाका लागि व्यथित गरेको उल्लेख गर्दै आफ्नो जीवन खुल्ला पुस्तकका रुपमा रहेको देउवाले बताएका छन्। ‘देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरू स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ,’ उनले भनेका छन्, ‘मेरो जीवन एउटा खुल्ला पुस्तकका रुपमा रहेको छ।’

उनले भ्रष्टाचारविरुद्ध आफूले गरेका कामको पनि स्मरण गराएका छन्। ‘भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ,’ उनले भनेका छन्। 

अहिले स्वास्थ्य उपचारका लागि विदेशमा रहेको उनले जानकारी दिएका छन्। अझै केही समय उपचारको क्रम जारी रहने उल्लेख गरेका छन्। उनी हङकङमा उपचाररत छन्। 

‘स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौँ र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु,’ देउवाले भनेका छन्। 

उनले विस्तार वास्तविकता खुल्दै जाने बताएका छन्। आफ्नोबारे आएका अतिरञ्जनामा नरमाउन उनले आग्रह गरेका छन्। ‘वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ,’ देउवाले भनेका छन्, ‘अतिरञ्जना गरी सार्वजिनक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु।’ https://www.facebook.com/share/p/17vXwiAbwz

प्रतिक्रिया