म्याग्दीमा १३९ वटा झोलुङ्गे पुल निर्माण

गलेश्वर (म्याग्दी)। म्याग्दीमा सञ्चालित गैरसरकारी संस्था मिलन म्याग्दीको प्राविधिक सहयोग र विभिन्न निकायको आर्थिक लगानीमा जिल्लामा १३९ झोलुङ्गे पुल निर्माण गरिएका छन् ।
मिलन म्याग्दीको बेनीमा सम्पन्न २६औँ स्थापना दिवसका अवसरमा संस्थाका अध्यक्ष दिलमाया बिटालुले उक्त जानकारी दिएका हुन् । उनका अनुसार जिल्ला सदरमुकाम नजिकका गाउँबस्तीका खोला तथा नदीदेखि दुर्गम क्षेत्रमा जान सजिलो बनाउन झोलुङ्गे पुल निर्माण गरिएको हो ।
जिल्लाको दुर्गम मानिएको धवलागिरि गाउँपालिकादेखि लिएर रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका दुर्गम तथा विकट बस्तीलाई जोड्ने झोलुङ्गे पुल निर्माण गरिएपछि स्थानीयको घण्टौँ लगाएर यात्रा गर्नुपर्ने बाध्यता हटेको तथा यात्रा अवधि छोटिएको उनले बताए ।
“झोलुङ्गे पुलबाट समुदायलाई जोड्ने प्रयासमा हामी पनि वर्षौंदेखि आबद्ध छौँ, समुदायमा आधारित कार्यक्रमलाई निरन्तरता दिइरहेका छौँ”, उनले भने । यसै क्रममा हालै मात्र जिल्लाको धवलागिरि–७ धारापानी र मालिका गाउँपालिका–७ खारा जोड्ने उक्त पुल निर्माण भएपछि २७४ घरधुरीका व्यक्ति लाभान्वित भएका छन् । पुल बनेपछि एक घण्टाको बाटो १५ मिनेटमा छोटिएको छ ।
झोलुङ्गे पुल निर्माण भएपछि विभिन्न बस्तीका बासिन्दालाई सहजै पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको उनको भनाइ छ । चालु आर्र्थिक वर्षमा मिलन म्याग्दीमार्फत बेनी नगरपालिकामा दुई, मङ्गला गाउँपालिकामा एक, रघुगङ्गा गाउँपालिकामा एक र धवलागिरि गाउँपालिकामा एक झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा रहेका उनले जानकारी दिए ।
पुल निर्माण भएपछि स्थानीयको यात्रा छोटिएको र कृषिसहित अन्य घरायसी प्रयोजनका लागि आवश्यक पर्ने सामान ढुवानीमा सहजता भएको बिटालुको भनाइ छ । अहिलेसम्म सरकारले गण्डकी प्रदेशमा दुई हजार २६४ झोलुङ्गे पुल निर्माण भएको स्थानीय पूर्वाधार विभागले जनाएको छ ।
विभागका महानिर्देशक भरतप्रसाद अर्यालका अनुसार १२० मिटरभन्दा लामा झोलुङ्गे पुल सङ्घीय सरकारले र सोभन्दा कम दुरीका झोलुङ्गे पुल प्रदेश तथा स्थानीय तहले बनाउँदै आएका छन् । तीनवटै तहले पुल निर्माण गरेकाले सरकारले धेरै सङ्ख्यामा पुल निर्माण गर्न सकेको हो । झोलुङ्गे पुल निर्माणका लागि लट्ठाबाहेक सबै सामग्री नेपालमै पाइने भएकाले पनि पुल निर्माणमा थप सहजता भएको महानिर्देशक अर्यालको भनाइ छ ।
पन्ध्रौँ पञ्चवर्षीय योजनामा पनि कम्तीमा आधा घण्टा पैदल हिँडेर पुगिने दूरीमा झोलुङ्गे पुल बनाउनुपर्ने उल्लेख छ । सोही लक्ष्यअनुसार सरकारले पहाडी जिल्लामा तर्नलाई सहज बनाउनका लागि झोलुङ्गे पुल निर्माण कार्यलाई तीव्रता दिएको हो । “पहिला झोलुङ्गे पुल नदी तर्नका लागि मात्र हुन्थ्यो”, उनले भने, “अहिले नदी तर्नाका साथै आवतजावतमा दूरी घटाउने तथा पर्यटकीय दृष्टिकोणले पनि झोलुङ्गे पुल निर्माणको माग हुँदै आएको छ ।”














शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया