प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटमा रूपन्देही विजेता

भैरहवा । रुपन्देही प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोट खेलमा च्याम्पियन बनेको छ । आइतबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा रुपन्देहीले दाङलाई ९३ रनले पराजित गर्दै छनोट खेलको च्याम्पियन बनेको हो । विजेता र उपविजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
टस हारेर ब्याटिङको निम्तो पाएको रुपन्देहीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १ रन बनायो । उसका लागि प्रज्वल थापाले शतकीय पारी खेले । उनले १ सय १ रन जोडे । यस्तै, मनिष थापाले २४, मिर्नाल गुरुङले २२, एजाजुल हकले १८ र विप्रशन केसीले १२ रन बनाए । बलिङमा दाङका दिनेश बोहरा र मोहन खत्रीले ३–३ तथा बीरबहादुर घर्तीमगर र तुलबहादुर थापाले १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको दाङ ३२ ओभर ५ बलमा १ सय ८ रन बनाउँदा अलआउट भयो । उसका लागि मनोज पुनले २२, सुशान्तसिंह थापाले १८, मोहन खत्रीले १७ र तुलबहादुर थापाले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिमले हार ब्यहोर्याे । बलिङमा रुपन्देहीका सन्देश थापा र रमेश कुर्मीले ३–३, अजय चौहानले २ तथा कृष्ण कार्की र विप्रशन केसीले १–१ विकेट लिए । खेलमा रुपन्देहीका प्रज्वल थापा प्यलेर अफ द फाइनल घोषित भए ।
विजेता र उपविजेता टिमलाई सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारी, प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङ, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रदीप मजगैया, संघका उपाध्यक्ष विनयराज भण्डारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, संस्थापक अध्यक्ष प्रेमकुमार सेन्चुरी, नेपाल साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड भैरहवाका प्रमुख हरिचन्द्र श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरे ।
यही फागुन २५ देखि भैरहवाको सिद्धार्थ रंगशाला, तिलोत्तमाको एक्स्ट्राटेक र लमही राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोटका लागि जिल्ला स्तरको छनोट खेल सम्पन्न भएको हो । खेलाडीको प्रदर्शन हेरेर छनोट समितिले केही दिनमै लुम्बिनी प्रदेशको एउटा टिम छनोट गर्ने प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङले बताए ।









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
आज विवाह पञ्चमी: सिता र रामको पूजा गरी मनाइँदै
प्रतिक्रिया