शनिबार, फागुन ३०, २०८२

वीरेन्द्रनगरलाई हरित नगर बनाइँदै

मेरोन्यूज २०८१ फागुन २३ गते ९:५४

भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकालाई हरित नगरको रूपमा विकास गरिँदै लगिएको छ । वीरेन्द्रनगरलाई सुन्दर, सफा र हरियाली सहर बनाउने दीर्घकालीन सोचका साथ हरित नगरको रुपमा विकास गर्न लागिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

नगरपालिकाले यसका लागि ‘एक घर दुई बिरुवा, हामी आफैँ कुरुवा’ कार्यक्रम सञ्चालन गरिरहेको छ । यो कार्यक्रमअन्तर्गत वीरेन्द्रनगरभित्र नयाँ घर निर्माण गर्ने घरधनीले आफ्नो आगनमा दुई बिरुवा वृक्षरोपण गर्नुपर्ने हुन्छ भने त्यसको रेखदेख पनि आफैँले गर्नुपर्ने हुन्छ ।

नगरपालिकाको यो नीतिले वीरेन्द्रनगरलाई हरियाली र सुन्दर बनाउन सघाउ पुग्ने अपेक्षा लिइएको छ । नगरप्रमुख मोहनमाया ढकाल भन्नुहुन्छ, “नयाँ घर निर्माण गर्नेले दुई बिरुवा वृक्षरोपण गर्नैैपर्ने नीति बनाएका छौँ, नगरपालिकामा वृक्षरोपण अभियान चलाएका छौँ । विगतभन्दा वीरेन्द्रनगर सुन्दर र सफा बन्दै गएको छ ।” नगरभित्र निर्माण भएका नयाँ सडकको आसपासमा समेत वृक्षरोपण गरिएको नगरप्रमुख ढकालले दुई वर्षमा करिब दश हजार नयाँ बिरुवा सडक छेउछाउमा रोपिएको बताउनुभयो । “वातावरणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौँ,” नगरप्रमुख ढकालले भने”, “विश्व जलवायु परिवर्तनको असरको चपेटामा परिरहेका बेला हरित सहर बनाउने योजना अघि बढाएका हौँ ।”

सडक छेउछाउमा अहिले फलफूलका बिरुवा समेत रोपिएका छन् । नगरपालिकाले ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण गरिरहेको छ । नगरपालिकाले प्लाष्टिकमुक्त नगर बनाउने गरी योजना बनाएको र त्यसलाई कार्यान्वयन गर्न सबै नागरिक जागरुक हुनुपर्ने उहाँको भनाइ छ । “वीरेन्द्रनगर नगरपालिकामा ३५० भन्दा बढी टोल विकास समिति छन्, ती समितिमा प्रशिक्षक पनि राखेका छौँ । उहाँहरुमार्फत गाउँगाउँमा हरियाली सहर बनाउनुपर्छ भनेर अभियान र सचेतना जगाइरहेका छौँ ।”

प्रतिक्रिया