मंगलबार, वैशाख २२, २०८३

रिंकु सदा मृत्यु प्रकरणका अभियुक्त सार्वजनिक

मेरोन्यूज २०८१ फागुन २३ गते २०:०२

सिरहा। सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतिपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कार तथा शंकास्पद मृत्यु घटनामा पक्राउ परेका अभियुक्तहरूलाई प्रहरीले सार्वजनिक गरेको छ।

Advertisement
NiccNicc

जिल्ला प्रहरी कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको हो। प्रहरीका अनुसार हालसम्म आठजना पक्राउ परेका छन् भने चारजना फरार छन्।

पक्राउ पर्नेहरूमा बलात्कारका मुख्य आरोपित रुपेश मण्डल तथा पञ्चायतीमा संलग्न वडासदस्य नथुनी साहसहित स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, राजेन्द्र मण्डल, चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दास छन्।

त्यसमध्ये रुपेश, नथुनी, रामकृपाल र विन्देश्वर जाहेरीमा नाम किटान गरिएका व्यक्ति हुन् भने अन्यको जाहेरीमा नाम उल्लेख नभए पनि पञ्चायतीमा भूमिका देखिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

अभियुक्तमध्येका चन्देश्वर, रामविनोद र कमलेशलाई प्रहरीले फागुन ११ मै पक्राउ गरेको थियो। त्यसैगरी बलात्कारका मुख्य अभियुक्त रुपेश गत २१ गते पक्राउ परेका थिए। अन्य चार जनालाई लुकिछिपी बसेको अवस्थामा विभिन्न स्थानबाट शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी नायाब उपरीक्षक पासवानका अनुसार पक्राउ परेकाहरुलाई जिल्ला अदालत सिरहाबाट पाँचदिनको म्याद थप गरी थप अनुसन्धान थालिएको छ भने फरार अभियुक्तको खोजी भइरहेको छ।

प्रतिक्रिया