शनिबार, फागुन ३०, २०८२

होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछः राष्ट्रपति पौडेल

मेरोन्यूज २०८१ फागुन २९ गते ७:१०

काठमाडौँ, २९ फागुनः राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। होली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरे।

Advertisement
nepal life insurencenepal life insurence

राष्ट्रपति पौडेलले जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण नेपाली समाजलाई विविधता बीचको एकता कायम गर्न पर्वले मद्दत पुग्ने विश्वास व्यक्त गरे। “विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो । यो पर्वले समस्त नेपालीहरूबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वास लिएको छु”, शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रपति पौडेलले होलीमा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो भने । उनले नेपालीहरूको विशेष पर्व होलीको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ । रङहरूको पर्वका रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुसियालीसाथ मनाउने परम्परा रहेको छ । होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने गरिन्छ । –

प्रतिक्रिया