राजावादीलाई प्रचण्डको चेतावनी- अर्को मुर्खता नगरियोस्, निकै ठूलो मूल्य चुकाउनुपर्छ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनअघि बृहत् समीक्षा आवश्यक रहेको बताएका छन् ।
२७औँ सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा आज यहाँ आयोजित जनसांस्कृतिक राष्ट्रिय सम्मान–२०८१ कार्यक्रममा उनले अहिले संविधान संशोधनभन्दा पनि समीक्षाको बहस आवश्यक रहेको बताए ।
“संविधान समीक्षाको बहस चलाइयोस्, त्यो टुङ्गोमा पुगेपछि मात्रै संशोधन अघि बढाइनुपर्छ”, अध्यक्ष दाहालले भने, “सबै राजनीतिक दल र शक्ति मिलेर समीक्षा गरौँ, यसरी गरिने संशोधनले मात्रै सही आकार लिन सक्छ ।”
अध्यक्ष दाहालले राजतन्त्र फर्काउने मुर्खता गर्दा त्यसको ठूलो मूल्य चुकाउनुपर्ने जिकिर गरे । ‘फेरि अर्को मुर्खता नगरियोस् । नत्र त्यसले निकै ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ,’ प्रचण्डले भने ।
वैज्ञानिक समाजवादलाई राजनीतिक उद्देश्य लिएका माओवादी धारहरु छिट्टै एकताबद्ध हुने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले वामपन्थी एकताका निम्ति आफूले इमान्दार प्रयास गर्ने बताए । मुलुकको राजनीतिक परिवर्तनमा संस्कृतिकर्मीको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।
नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य माइला लामाले मुलुकलाई पश्चगमनतर्फ फर्काउने प्रयास कुनै हालतमा सफल नहुने बताए । प्रतिगामी कदम विरुद्ध माओवादीहरु एकताबद्ध भएर फेरि सङ्घर्ष गर्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा अध्यक्ष दाहालले माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री सत्य पहाडीले लेखेका १० वटा पुस्तक विमोचन गरेका थिए । सो क्रममा अध्यक्ष दाहालले सांस्कृतिक सहिद परिवारका सदस्यलाई सम्मान गरेका थिए ।
प्रतिक्रिया