राष्ट्र बैंकद्वारा आगामी बजेटका लागि सुझाव संकलन

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि वीरगञ्जका उद्योगी तथा व्यवसायीसँग सुझाव संकलन गरेको छ ।
राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आज आगामी आवको लागि पूर्व बजेटकालिन अन्तरक्रिया गरी आगामी बजेटमा समावेश गर्नुपर्ने विषयका सन्दर्भमा सुझाव संकलन गरेको हो ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले पछिल्लो समय उद्योगी तथा व्यवसायीको मनोबल खस्किएकाले आगामी आवको बजेटमार्फत मनोबल उकास्ने खालको बजेट ल्याउन अनुरोध गरेका छन् । अध्यक्ष अग्रवालले सरकार र निजी क्षेत्रबीच विश्वासको अभाव भएकाले निजी क्षेत्रको मनोबल क्रमशः घट्दै गइरहेको बताएका छन् ।
अर्थशास्त्री दीपेन्द्रकुमार चौधरीले सरकारले घाटाको बजेट ल्याउनुभन्दा यथार्थपरक र वस्तुनिष्ठ बजेट ल्याउन सुझाव दिए । ‘‘सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्ने घाटाको बजेट ल्याएर कुनै काम छैन,’’ उनले भने, ‘‘वस्तुपरक र यथार्थबजेट ल्याएर कार्यान्वयन गर्न जरुरी छ ।’’
वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले वीरगञ्ज महानगरसँग पर्याप्त कृषियोग्य जमिन भएपनि आवश्यक स्रोतको अभाव भइरहेको बताए । प्रमुख प्रशासकीय अधिकृत कर्णले वीरगञ्जबाट मुलुकले सबैभन्दा धेरै राजस्व संकलन गर्ने भएपनि वीरगञ्जको पूर्वाधार र अन्य क्षेत्रको विकासमा सङ्घीय सरकारले बेवास्ता गरेको आरोप लगाए ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका बरिष्ठ उपाध्यक्ष हरि गौतमले सरकारले हचुवाको भरमा बजेट ल्याउने र कार्यान्वयन नगर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको औल्याए । नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका निर्देशक सत्येन्द्रराज सुवेदीले उद्योगी व्यवसायीले दिएका सुझावलाई लिपीबद्ध गरेर सरकारलाई हस्तान्तरण गर्ने बताए ।
राष्ट्र बैंकका उपनिर्देशक विष्णुप्रसाद सुवेदीले बजेट सुझाव सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । राष्ट्र बैंकका वीरगञ्ज कार्यालय प्रमुख सुशील पौडेलले यस्ता छलफलमूलक कार्यक्रमले बजेट निर्माणमा मार्गनिर्देश गर्ने बताए ।










यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल
झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा
स्वास्थ्य परीक्षणका लागि डा. निकोलसलाई लगियो वीर अस्पताल
जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
आज रामकुमारी झाँक्रीले पत्रकार सम्मेलन गर्दै, एमालेमा फर्कने घोषणा
कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्कदै
यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान
प्रतिक्रिया