आइतबार, वैशाख ७, २०८२

प्रोटोन ‘ई-मास ७’ ईभी नेपाली बजारमा, कति पर्छ मूल्य ?

मेरोन्यूज २०८१ चैत ८ गते ११:२८

काठमाडौं । नेपालमा प्रोटोनको पहिलो विद्युतीय गाडी ‘प्रोटोन ई-मास ७’ (Proton e.MAS7) सार्वजनिक भएको छ ।

नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले शुक्रबार एक कार्यक्रमकाबीच यो गाडी नेपाली बजारमा सार्वजनिक गरेको हो ।

प्रोटोन ई.मास ७ मा नवीनतम प्रविधि र फाइभ-स्टार सेफ्टी फिचर समावेश छन् ।

कम्पनीका अनुसार यो इलेक्ट्रिक गाडी प्लाटिनम सिल्भर, टर्क्वाइज ग्रीन, स्लेट ग्रे, क्वार्ट्ज रोज, मोयु ब्ल्याक र लिथियम ह्वाइट गरी ६ विभिन्न कलरमा उपलब्ध छ ।

गाडीमा ग्लोबल मोडुलर आर्किटेक्चर (जीएमए) प्लेटफर्म, १२-इन-१ इन्टेलिजेन्ट इलेक्ट्रिक प्रोपल्सन सिस्टम, सेल-टु-बडी (सीटीबी) ब्याट्री आर्किटेक्चर र एजिस सर्ट-ब्लेड ब्याट्री प्रविधि समावेश छन् ।

१६० किलोवाट मोटर पावर रहेको गाडीमा ३२० एनएम टर्क छ, जसले ६.९ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ ।

प्रोटोन ई.मास ७ नेपाली बजारमा प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । प्राइम मोडेलले एक पटकको चार्जमा ३४५ किलोमिटर रेञ्ज प्रदान गर्छ भने यसमा ४९.५२ किलोवाट आवरको ब्याट्री रहेको छ ।

प्रिमियम मोडेलले एक पटकको फुल चार्जमा ४१० किलोमिटर रेञ्ज दिने दाबी गरिएको छ, जसमा ६०.२२ किलोवाट आवरको ब्याट्री छ ।

कम्पनीका अनुसार गाडीले डीसी फास्ट चार्जिङलाई सपोर्ट गर्छ, जसअनुसार २० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने १० मिनेटको चार्जमा १३५ किलोमिटर रेञ्ज थप्न सकिन्छ ।

गाडीमा भेन्टिलेटेड सिट, स्टोरेज कम्पार्टमेन्ट, १६ ओटा स्पीकरसहितको साउन्ड वेभ सिस्टम, २५६-कलर एम्बियन्ट लाइटिङ र १५.४ इन्चको टचस्क्रिन डिस्प्ले रहेको छ ।

कम्पनीले यो विद्युतीय गाडी खरिद गर्न चाहने ग्राहकका लागि ४.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा, न्यूनतम किस्तामा खरिद विकल्प, एक वर्षको सडक कर छुट, निःशुल्क चार्जिङ प्याक, ६ वर्षको वारेन्टी तथा सुरुवाती १०० ग्राहकलाई ५० हजार रुपैयाँ बराबरको उपहार प्रदान गर्ने योजना ल्याएको छ ।

प्रोटोन ई.मास ७ को मूल्य प्राइम मोडेलका लागि ५६ लाख ९९ हजार रुपैयाँ र प्रिमियम मोडेलका लागि ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया