राज्यका संयन्त्र सूचना दिन डराउनु हुँदैन : प्रमुख सूचना आयुक्त आचार्य

सुदूरपश्चिम। राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यले सूचना पाउने नागरिकको हक कार्यान्वयनका लागि राज्य संयन्त्रहरू डराउन नहुने बताएका छन् ।
आयोगले आज धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय अन्तरक्रियामा उनले सहज रूपमा सूचना प्रवाह गर्न सकिए त्यसबाट देशको समृद्धि र सुशासनमा टेवा पुर्याउने बताए ।
‘सूचनाको हकसम्बन्धी कानुनअनुसार कसैले पनि दिन मिल्ने सूचना प्रवाहमा लापरबाही गर्न हुँदैन । राज्यका संयन्त्र यसको प्रयोगमा गम्भीर बन्न आवश्यक छ’, प्रमुख सूचना आयुक्त डा आचार्यले भने।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले गरिखाने वर्ग समुदायका लागि सूचनाको हक निकै महत्त्वपूर्ण रहेको धारणा राखे । सूचना प्रवाह गर्ने काम चुस्तदुरूस्त बनाउन जरुरी रहेकामा जोड दिँदै उनले इमानदार भएर काम गर्नेले सूचना दिन डराउनु नपर्ने बताए ।
आयोगका सचिव दीर्घराज मैनालीले सूचनाको हक कार्यान्वयनका लागि आयोगले खेलेको भूमिकामाथि प्रकाश पारे ।
सुदूरपश्चिम प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव विकास कोइरालाले सूचनाको हक कार्यान्वयनका लागि प्रदेश सरकारबाट भइरहेका नीतिगत व्यवस्थालगायत विषयबारे चर्चा गरे ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, आयोगका आयुक्त गगन विष्ट, नेपाल पत्रकार महासङ्घका प्रदेश अध्यक्ष भरत शाहलगायतले सूचनाको सहज पहुँच बढाउनुपर्नेमा जोड दिए ।
नेपालको संविधानको धारा २७ मा प्रत्येक नागरिकलाई सार्वजनिक सरोकारका कुनै पनि विषयको सूचना माग्न पाउने हकको व्यवस्था गरिएको छ । संविधानबमोजिम सूचनाको हकसम्बन्धी ऐन २०६४ र नियमावली २०६५ कार्यान्वयनमा छ ।
आयोगका अनुसार सुदूरपश्चिम प्रदेशमा गत वर्ष सूचना पाउन नसकिएको भनेर ८१ निवेदन/उजुरी परेका छन् । ती उजुरीमध्ये सबैभन्दा बढी पालिका तहसँग सम्बन्धित छन् ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया