बिहीबार, फागुन २८, २०८२

प्रधानमन्त्री ओलीसँग थाइल्याण्डका व्यावसायीहरूको भेटवार्ता

मेरोन्यूज २०८१ चैत २० गते १२:५६

काठमाडौँ। थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बैङ्ककमा थाइल्याण्डका वरिष्ठ व्यावसायीहरूको भेटवार्ता भएको छ । भेटका अवसरमा नेपाली व्यवसायी प्रतिनिधिमण्डलका सदस्यहरू पनि सहभागी थिए ।

Advertisement
nepal life insurencenepal life insurence

प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिन मङ्गलबार बैङ्कक प्रस्थान गरेका थिए । थाइल्याण्डका प्रधानमन्त्री पेथोङ् थान् शिनावात्को मैत्रीपूर्ण निमन्त्रणामा २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।

बुधबार प्रधानमन्त्री ओली र उनका थाई समकक्षीबीच नेपाल–थाइल्याण्ड सम्बन्धका विविधि विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली भोलि चैत २२ गते बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुनेछन्।

शिखर सम्मेलनका क्रममा सदस्य मुलुकका समकक्षी एवं राष्ट्रप्रमुखहरूसँग भेटवार्ता हुनेछ । प्रधानमन्त्रीका साथमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक एवं विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी छन्। प्रधानमन्त्री ओली यही चैत २३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया