कर्णालीमा २१ महिनामा ६५ पुल निर्माण

आर्थिक वर्ष २०८–८१ देखि हालसम्मका २१ महिनाको अवधिमा कर्णाली प्रदेशभरी ६५ पुल निर्माण भएका छन् । प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले दिएको विवरणअनुसार २३ पक्की पुल तथा ४२ झोलुङ्गे पुल निर्माण भएका हुन् ।
चालु आर्थिक वर्षको साउनदेखि पुससम्म छवटा झोलुङ्गे पुल निर्माण भएका छन् । पाँचवटा सडकमा पुल (मोटरेबल) निर्माण भएको पूर्वाधार तथा शहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले जानकारी दिए । हुम्लामा चार र कालीकोटमा दुई झोलुङ्गे पुल निर्माण भएका छन् । त्यस्तै सुर्खेतमा एक, जाजरकोटमा एक, कालीकोटमा एक, मुगुमा एक र सल्यानमा एक मोटरेबल पुल निर्माण भएका हुन् । चालु आवमै २१ दशमलव ४५ किलोमिटर सडक कालोपत्र गरिएको छ ।
यो अवधिमा ९५ किलोमिटर कालोपत्र गरिएको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका प्रवक्ता सुवेदीले जानकारी दिए । दुई सय पाँच किलोमिटर ग्राभेल र ५२५ कच्ची सडक कटानको काम भएको उनले बताए । आर्थिक वर्ष २०८१–८२ का लागि बहुवर्षे ठेक्का हुने गरेर आठवटा नयाँ मोटरेबल पुल निर्माणका लागि स्वीकृति दिइएको छ । त्यस्तै एक बेलिब्रिज पुल निर्माण गर्नका लागि सहमति प्रदान गरिएको छ ।
४१ वटा नयाँ झोलुङ्गे पुल निर्माण गर्नका लागि स्रोत सुनिश्चित गरेर बहुवर्षे ठेक्काको काम सुरु भएको छ । रुकुम–पश्चिममा पाँच योजनामध्ये एक सडक, दुई पुल र दुई झोलुङ्गे पुल मात्र स्रोत सुनिश्चित गरिएको छ । जाजरकोटका तीन बेलिब्रिज पुलका लागि स्रोत सुनिश्चित भई काम सुरु गरे पनि बारेकोट र नलगाड नगरपालिकाको बीचमा रहेको खारामा नलगाड जलविद्युत् आयोजनाले पनि पुल निर्माण गरिरहेकाले सो ठाउँमा अहिले तत्काल पुलको काम रोखिएको छ ।
एघार योजना सुर्खेतमा स्रोत सुनिश्चित गरिएको छ । त्यसमध्ये चार झोलुङ्गे पुल, चार सडक, दुई सडक तथा पुल र अन्य संरचना एउटा रहेको छ । दैलेखमा दुई मोटरेबल पुल, आठ झोलुङ्गे पुलको लागि बजेट सुनिश्चित गरिएको छ । मुगुमा छवटा योजनाको मात्र स्रोत सुरक्षित गरिएको छ । हुम्लामा तीन, डोल्पामा आठ, जाजरकोटमा चार, कालीकोटमा तीन, दैलेखमा आठ, सल्यानमा सात र जुम्लामा चार योजनाको बजेट सुनिश्चित गरिएको छ । कर्णाली ६१ योजनाको स्रोत सुरक्षित गरिएको मन्त्रालयका प्रवक्ता सुवेदीले जानकारी दिए ।
चालु आर्थिक वर्षमा ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत सुर्खेतको दशरथपुर–जितेजुवा–ढाँडखेत–मटेला–धरमपोखरा सडक, जाजरकोटको पश्चिम क्षेत्रमा रहेको शिवालय गाउँपालिकाको मोर्क हुँदै छेडागाड नगरपालिकाको चङ्खिला–बडावन–जुनिचाँदेको सानाखोलाको काम सुरु भएको छ । रुकुम–पश्चिमको चौरजहारी नगरपालिकाको नार्जी–खोलागाउँ–चौखा–बैरागीठाँटी, मुसीकोट–सल्ले सडकको कालोपत्रको काम सुरु गरिएको उनले जानकारी दिए ।
प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजनाअन्तर्गत दैलेखको डुङ्गेश्वर–डाँडापराजुल सडक स्तरोन्नति तथा दैलेखको सम्झौताको काम पुरा भएर काम सुरु हुन लागेको छ । गल्फागाड–थालाकाटे सडक स्नरोन्नतिको कामसमेत सुरु भएको छ ।
राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी वीरेन्द्रनगरस्थित रङ्गशाला वरिपरि, सुर्खेत विमानस्थल जोड्नेलगायतका सडक कालोपत्र गर्ने काम पूरा भएको उनले जानकारी दिए । हुम्लाको खार्पु–सिमकोट नमुना एकीकृत पूर्वाधार विकास कार्यक्रम तथा डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको रिङ्बो बस्ती विकास कार्यक्रमको सम्झौता हुने चरणमा रहेको जानकारी गराइएको छ ।
प्रादेशिक सडक गुरुयोजना अद्यावधिक गरी स्वीकृतिको अन्तिम चरणमा रहेको जनाइएको छ । सुस्त गतिमा काम गरिरहेका करिब ३५ सडक तथा पुल आयोजनाको हाल दुईतिहाइ आयोजनामा प्रगति सन्तोषजनक रूपमा अघि बढेको मन्त्रालयको दाबी छ ।
यस्तै भूकम्प प्रभावित जाजरकोट, रुकुमपश्चिम र सल्यानका क्षति भएका सार्वजनिक विद्यालय तथा स्वास्थ्य संस्थाहरूको पुनर्निर्माणका लागि कूल रु ५० करोड विनियोजन भई ६२ विद्यालय र १८ स्वास्थ्यचौकी गरी कूल ८० संस्थाहरूको पुनर्निर्माणको काम सुरु गरिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया