दुई ‘रियालिटी शो’का लागि ६० देशबाट प्रतिभा छनोट

(पोर्चुगल) । सर्वाधिक धनराशि पुरस्कार रहेको नेपाली गायन र नृत्यको रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को दोस्रो संस्करणका लागि ६० देशबाट २४० जना प्रतिभा छनोट भएका छन् ।
‘इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ले नेपालसहित १२ भन्दा बढी मुलुकमा अडिसन लिई ती प्रतिभा छनोट गरेको हो । पहिलो चरणको अडिसनबाट मेरो भ्वाइस युनिभर्सका लागि १२० जना र मेरो डान्स युनिभर्सका लागि १२० जना प्रतियोगी छनोट गरेको फाउन्डेसनका कार्यकारी निर्देशक चूडामणि भट्टराईले जानकारी दिए ।
विश्वका विभिन्न मुलुकमा भएको स्थलगत अडिसनमा सात हजारभन्दा बढी नेपाली मूलका नेपालीभाषी प्रतियोगी सहभागी भएको भट्टराईले बताए । छनोट भएका प्रतियोगीहरुलाई फाउन्डेसनले आफ्नै खर्चमा काठमाडौँ ल्याई अर्को चरणको प्रतिस्पर्धाका लागि तयारी गराएको छ।
छनोट भएका अधिकांशलाई काठमाडौँ ल्याइएको फाउन्डेसनले जनाएको छ ।
भट्टराईका अनुसार गायन र नृत्य गरी दुवैतर्फका शोका लागि अमेरिकामा भएको अडिसनबाट १० जना, क्यानडाबाट दुई, बेलायतबाट १०, पोर्चुगलबाट १०, भूटानबाट चार, थाइल्याण्डबाट १०, हङकङबाट १०, जापानबाट १०, अफ्रिकाबाट दुई, दुबईबाट १०, कतारबाट १०, अष्ट्रेलियाबाट १०, भारतबाट ६० र नेपालका विभिन्न शहरमा भएको अडिसनबाट ८२ जना प्रतिभा छनोट भएका छन् । नेपाल बाहिर रहेका नेपालीभाषीलाई नेपाली भाषा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले दोस्रो संस्करणको आयोजना गरिएको कार्यकारी निर्देशक भट्टराईको भनाइ छ।
“यो नेपाली भाषा, कला र संस्कृतिको माध्यमबाट संसारभरका नेपालीलाई जोड्ने एउटा सांस्कृतिक अभियान हो”, उनले भने, “थाइल्याण्ड, मलेसिया, बर्मा, फिजी, भूटानलगायतका देशमा त्यहीँका नागरिक भई बसोबास गरेका नेपालीभाषीहरुले समेत अडिसनमा भाग लिई छनोट हुनुभएको छ, यसले हामीलाई अझै उत्साहित बनाएको छ । हाम्रो अभियानले विश्वका विभिन्न मुलुकमा जन्मेका र हुर्केका नयाँ पुस्ताका नेपालीभाषीहरुलाई आफ्ना पुर्खाको मातृभूमिसँग जोड्ने काम गरेको छ ।”
संसारभरका नेपाली भाषीलाई नेपालसँग जोड्ने र कलासंस्कृतिको जगेर्ना गर्ने परिकल्पनाका साथ यो शो आयोजना गरिएको फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले बताइ । “नेपालीको परम्परा, रीतिथिति, भाषा, संस्कृति र नेपालीपन जोगाई राख्न सकियोस्, पुर्खाको जन्मभूमिसँग विदेशमा बस्ने नयाँ पुस्ताका नेपालीलाई जोड्न सकियोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो,” अध्यक्ष अधिकारीले भने ।
अमेरिकाबाट सुरु भएको स्थलगत अडिसन क्यानडा, बेलायत, पोर्चुगल, थाइल्याण्ड, हङकङ, जापान, अफ्रिका, अष्ट्रेलिया, दुबई, कतार, भूटान र भारतका विभिन्न शहरमा सम्पन्न भएको छ । त्यसैगरी, नेपालमा बिर्तामोड, नेपालगञ्ज, पोखरा र काठमाडौँमा अडिसन सम्पन्न गरेको छ । पहिलो संस्करणमा विश्वका ५२ देशका नेपालीभाषीले सहभागिता जनाएकामा यसपटक ६० देशका नेपाली प्रतिभाहरुको सहभागिता रहेको फाउण्डेसनले जनाएको छ ।
दुवै शोका विजेताहरुले एक–एक करोड नगद पुरस्कार पाउने छन्भने उपविजेताले २५–२५ लाख तथा तृतीय स्थान प्राप्त गर्नेले १०–१० लाख पुरस्कार पाउने फाउण्डेसनले जनाएको छ ।
यसबाहेक समूह नृत्यतर्फका प्रतिस्पर्धाका विजेता समूहले २० लाख, उपविजेता समूहले १० लाख र तृतीय समूहले पाँच लाख प्राप्त गर्नेछन् । छनोट चरणको उत्कृष्ट दशसम्म पुग्न सफल प्रतिभालाई तीन–तीन लाखले पुरस्कृत गरिने जनाइएको छ ।
मेरो भ्वाइस युनिभर्सका लागि काठमाडौँमा सम्पन्न छनोट चरणमा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, गायकहरु शिव परियार र पुष्पन प्रधान, गायिका अञ्जु पन्त र तृष्णा गुरुङ निर्णायकको भूमिकामा रहेका छन् । मेरो डान्स युनिभर्सको निर्णायकहरुमा कलाकार मिथिला शर्मा, अभिनेता दिलीप रायमाझी, अभिनेत्री शिल्पा मास्के, कोरियोग्राफरहरु शङ्कर बिसी, कविराज गहतराज र किरण थापालगायत रहने आयोजक संस्थाले जनाएको छ ।
नेपाल टेलिभिजनबाट प्रसारण हुने दुवै शोको अर्को चरणको प्रतिस्पर्धा र प्रतिभा छनोट प्रक्रिया यसै साताबाट सुरु भएको छ । यअघि फाउण्डेसनले सन् २०२३ मा दुवै रियालिटी शोको पहिलो संस्करण सम्पन्न गरेको थियो । पहिलो संस्करणको ‘मेरो भ्वाइस युनिभर्स’ मा सिक्किमका प्रीतम राई विजेता भएका थिए ‘मेरो डान्स युनिभर्स’ को उपाधि थाइल्याण्डकी खुसी कार्कीले जितेकी थिइन् ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया