आइतबार, वैशाख २७, २०८३

तत्काल सरकारमा जाने मनस्थितिमा छैनाैं : माधव नेपाल

मेरोन्यूज २०८२ वैशाख ४ गते १४:३६

चितवन । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिले आफूहरू सरकारमा जाने मनस्थितिमा नरहेको बताएका छन्। आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफूहरू जनतामा जाने, जनताको समस्या बुझ्नेतर्फ केन्द्रित गरेको उल्लेख गरे ।

Advertisement
NiccNicc

उनले भने, “तत्काल सरकारमा जाने मनस्थिति छैन । जनतामा जाने, जनताका समस्या बुझ्ने र उहाँहरूका समस्या समाधानमा ध्यान केन्द्रित छ ।” उनले अहिले पार्टीका कमीकमजोरीलाई सुधार गरेर अघि बढ्ने समय रहेको बताए ।

फेरि राजतन्त्र फर्कन सक्ला ? भन्ने पत्रकारहरूको प्रश्नमा अध्यक्ष नेपालले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताए । पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गरी उनले राजतन्त्र ल्याएर फाइदा नभएको बताउँदै व्यक्ति विशेषमा राम्रो भावना, योजना भए प्रभावकारी काम गर्न सकिने धारणा राखे ।

नेपालीहरू हाम्रो देश चलाउन, अघि बढाउन, देशको सम्मान, स्वाभिमानको रक्षा गर्न र स्वतन्त्रताको रक्षा गर्न आफैँ सक्ने अवस्थामा रहेका अध्यक्ष नेपालको भनाइ छ । शिक्षकहरूको मागका बारेमा सरकार सकारात्मक बनेर समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए ।

वर्षौंदेखि भएका सहमति कार्यान्वयन गर्न सरकारलाई नेपालले आग्रहसमेत गरे । उनले भने, “विद्यार्थीको भविष्यसँग जोडिएको विषय छ । यसलाई सरकारले समाधान गर्न तदारुकता देखाउनु पर्छ ।”

प्रतिक्रिया