शुक्रबार, जेठ २, २०८२

धनगढीमा यो वर्षकै सबैभन्दा बढी तापक्रम

मेरोन्यूज २०८२ वैशाख ९ गते २१:३९

काठमाडौं । कैलाली र कञ्चनपुरलगायत तराईका जिल्लामा केही दिनदेखि दैनिक तातो हावा (लु) चल्न थालेसँगै बढेको गर्मीले जनजीवन प्रभावित हुनथालेको छ । अहिले ‘प्रि मनसुन’ को समय चलिरहेकोले बढी गर्मीको महसुस भएको कैलाली अत्तरियास्थित जलवायु विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ । 

कार्यालयका जलवायु विज्ञ सञ्जय साहले गर्मी बढ्दै जाँदा धनगढीको अधिकतम् तापक्रम आज यो वर्षकै सबैभन्दा बढी ४० दशमलब आठ डिग्री सेल्सियस मापन भएको जानकारी दिए । सोमबार धनगढीको अधिकतम् तापक्रम ३९ डिग्री सेल्सियस मापन भएको थियो । उनले भने,“प्रि मनसुनले तातो हावासहितको हुरी चल्ने, असिनापानी पर्ने आफ्नो लक्षण देखाउँदा गर्मी पनि बढेको हो, अझैँ तापक्रम बढ्नसक्ने हुनसक्छ ।”
 
मनसुन भित्रिन अझैँ डेढ महिनाको समय बाँकी छ । गर्मी बढेसँगै धनगढी क्षेत्रमा छिनछिनमा विद्युत् आपूर्ति अवरुद्ध भइरहने समस्या पनि बढेको छ । गर्मीसँगै कैलालीसहितका जिल्लामा आगलागिका घटना पनि बढ्न थालेका छन् ।  धनगढी निवासी सुभाश चौधरीले वैशाख महिनामै यति चर्को गर्मी महसुस पहिलो पटक भएको अनुभव सुनाए । 

प्रतिक्रिया