पार्टी सुदृढ बनाउन जनताको बीचमा पुगेका छौं : अध्यक्ष दाहाल

राँझा (बाँके)। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ बनाउन आफूहरु जनताको बीचमा पुगेको बताएका छन्।
आज बाँकेको राप्ती सोनारी गाउँपालिका–६ स्थित फत्तेपुरमा माओवादी केन्द्रले सञ्चालन गरेको तराई मधेश जागरण अभियानअन्तर्गत आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीका अभियान, विचार र सिद्धान्तलाई जनतासम्म पुर्याउन र जनताका समस्या बुझ्दै जनतासँग नजिकको सम्बन्ध स्थापित गर्न अभियान सफल भएको बताए।
‘हामीले सरकारमा रहँदा सामाजिक न्याय र सुशासनको पक्षमा गरेको कामबारेमा जानकारी गराउने र तराई मधेसका सबै समुदायका जनतासँग सम्बन्ध जोड्र्दै पार्टीलाई सुदृढ बनाउने अभियानमा छाँै’, उनले भने, ‘म पहिलो पटक यो राप्ती सोनारी गाउँपालिकामा आउँदा उत्साहित भएको छु यहाँको विकासको लागि गर्नुपर्ने काममा म प्रतिबद्ध पनि छु।’
उनले बाँकेको राप्ती सोनारी क्षेत्रमा पछिल्लो समयमा विकास निर्माण र शिक्षा स्वास्थ्यको अवस्थामा सुधार भएको उल्लेख गर्दै सडक, स्वास्थ्य चौकी र राप्ती नदीको कटान रोक्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए।
पूर्वप्रधानमन्त्री प्रचण्डले आइतबारनै राप्ती सोनारी–७ मा राप्ती नदीले गरेको कटान तथा तटबन्धको स्थलगत निरीक्षण समेत गरेका छन्। कटान तथा तटबन्धको निरीक्षण गर्दै अध्यक्ष प्रचण्डले तत्काल तटबन्धको काम पूरा गरेर सो क्षेत्रका जनतालाई डुबान र कटानको त्रासबाट जोगाउन आवश्यक रहेको बताए।
उनले तत्काल हुनसक्ने क्षतिको न्यूनीकरणका लागि उपलब्ध बजेटबाट काम अघि बढाउन तटबन्ध निर्माण आयोजना प्रमुखलाई निर्देशन दिँदै थप बजेटका लागि आफूले पनि पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
सो अवसरमा पूर्वमन्त्री माओवादी स्थायी समितिका सदस्य महेश्वर गहतराज अथक, पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी, लुम्बिनी प्रदेशका पूर्वमन्त्री कृष्णा केसी नमूना र वडा नम्बर सातका वडाध्यक्ष रामलखन थारूले राप्ती नदीले गर्दै आएको कटान, डुबानलगायतका समस्याका बारेमा अध्यक्ष प्रचण्डसमक्ष जानकारी गराएका थिए।
माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्सको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय उपाध्यक्ष पम्फा भुसाल, सचिव चक्रपाणी खनाल बलदेव, प्रदेश अध्यक्ष सुदर्शन बराललगायतका नेताको सहभागिता रहेको थियो।
प्रतिक्रिया