शुक्रबार, फागुन १, २०८२

पार्टीका विभागहरू सक्रिय हुँदा ऊर्जा थपेको छ : सभापति देउवा

मेरोन्यूज २०८२ वैशाख १६ गते १८:२८

ललितपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका विभिन्न विभागहरू सक्रिय हुँदा पार्टीमा ऊर्जा थपिएको बताएका छन्। कांग्रेस पार्टीको विपन्न उत्थान समन्वय विभागद्वारा केन्द्रीय कार्यालय सानेपामा आज आयोजित विपन्न वर्गको पहिचान, उत्थान र विकास गर्न गराउन नीतिगत तथा कार्यक्रम सुझाव सहितको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले विभागहरूको सक्रियताले पार्टीलाई गतिशील, सशक्त र प्रभावकारी बनाएको बताए।

Advertisement
nepal life insurencenepal life insurence

‘प्रतिवेदन विपन्न लक्षित नीतिगत सुधारका लागि महत्त्वपूर्ण छ। निकै मेहनत गर्नुभएको छ। पार्टीको सबै तहका संरचना र निर्वाचित जनप्रतिनिधिलाई काम लाग्ने सुझावहरू छन्। यसलाई पार्टीले महत्त्वपूर्ण दस्तावेजका रूपमा स्वीकार गरेको छ। महत्त्वपूर्ण सुझाव छन्। भोलिका दिनमा ती सुझाव हेर्नेछौँ। केही सुझाव हेर्दा खर्चिलो पनि छन्’, सभापति देउवाले भने। उपसभापति धनराज गुरुङले नीति तथा कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा आएको प्रतिवेदन महत्त्वपूर्ण भएको बताए।

‘गरिब र विपन्नलाई दुईचार टुक्रा जग्गा बाँड्ने गफभन्दा पनि उसको भविष्य उज्ज्वल बनाउन सक्ने गरी सीप, शक्ति र सामथ्र्य दिन सक्नुपर्छ, हामीले दिने सामाजिक भत्ता पनि वैज्ञानिक छैन, सम्पन्न र विपन्नलाई एउटै छ, सम्पन्न मानिसलाई चार हजार भत्ता दिएर विपन्नलाई न्याय गर्न सकिँदैन, अहिले कांग्रेस सरकारमा छ, विपन्नलाई समेट्ने गरी नीति बनाउनुपर्छ, शिक्षा र स्वास्थ्यमा विपन्नका समस्यालाई सम्बोधन गर्न सक्नुपर्छ’, उनले भने।

पार्टीका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीलाई विपन्न र गरिबको पार्टी होइन भन्ने आरोपलाई फरक दृष्टिकोणले हेर्नुपर्ने धारणा राखे। ‘नागरिकहरू विपन्न भएसम्म पार्टी बलियो हुँदैन, विपन्नलाई हुने खाने वर्गमा बदल्ने गरी काम गर्नुपर्नेछ, विपन्नलाई माथि उठाउने हो, हाम्रो सैद्धान्तिक आधार यही हो,’ महामन्त्री थापाले भने। महामन्त्री थापाले संघ, प्रदेश र स्थानीय तहको लागि छुट्टाछुट्टै बजेट तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिँदै विपन्न लक्षित कार्यक्रमका बारेमा विभागले गरेको प्रस्ताव ठीक भएको प्रतिक्रिया दिए।

पूर्वउपसभापति विजयकुमार गच्छदारले विभागले प्रस्तुत गरेको प्रतिवेदनलाई पार्टीले पूर्ण कार्यान्वयन गर्न सक्यो भने १५–२० वर्षसम्म प्रभावकारी हुने विश्वास व्यक्त गरे। विपन्न उत्थान समन्वय विभागका प्रमुख डा.गोपाल दहिदले ११ जना सदस्य रहेको समितिले विभिन्न स्रोतबाट संकलन गरेको तथ्य र तथ्यांकका आधारमा विपन्न उत्थानका लागि ५६ पेजको प्रतिवेदन तयार पारेको जानकारी गराए।

प्रतिक्रिया