सोमबार, वैशाख २२, २०८२

मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी थालेका छौँः प्राधिकरण

मेरोन्यूज २०८२ वैशाख २१ गते २१:१३

काठमाडौँ। सरकारले मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी सुरु गरेको छ।

आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले पूर्वतयारी सुरु गरेको जानकारी दिएको हो।

प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले विगतका वर्षमा मनसुनजन्य विपद्‌बाट उच्च जोखिम व्यहोरेकाले यस वर्ष छिट्टै पूर्वतयारी सुरु गरेको बताए।

उनले हरेक वर्ष मौसमसम्बन्धी पूर्वानुमान घोषणा भएपछि पूर्वतयारी सुरु गर्ने गरिएकोमा यसपटक भारतले गरेको पूर्वानुमानको आधारमा पूर्वतयारी सुरु गरेको उल्लेख गरे।

सुरक्षा निकाय तथा विभिन्न एजेन्सीहरुलाई पूर्वतयारीका साथ रहन आग्रह गरिएको उनको भनाइ थियो।

उनले भने, ‘आजको मुलभूत विषय चाहिँ मनसुन छिट्टै आउँछ भनेर र यो वर्षको मनसुन अरु वर्षको भन्दा अझै ठूलो हुन्छ कि भनेर साउथ एसिएन मनसुन वाचले डिसिजन गर्‍यो पुनेमा अस्ति। त्योसहित हामी अलिअगाडिदेखि मनसुनको तयारी गर्दै थियौँ। पूर्वतयारी के कस्तो छ र पूर्वतयारीलाई कसरी द्रुतगतिमा अगाडि बढाउने यही कुरा प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारका अरु निकायसम्म कसरी पुर्‍याउने र यो वर्ष कसरी प्रतिकार्य गर्ने भन्नेबारेमा छलफल गर्‍यौँ। यो हरेक वर्षको प्रक्रिया हो, पहिले नेपालको फरकास्ट आएपछि पूर्वतयारी गर्थ्यौँ। तर यो पटक फरकास्ट आउन बाँकी छ। अझै एकहप्ता लाग्छ होला।’

प्रतिक्रिया