काँग्रेसले भन्यो-‘नीति तथा कार्यक्रम सकारात्मक’

काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम सन्तुलित, यथार्थपरक र कार्यान्वयनमुखी रहेको बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथि दलीय आधारमा धारणा राख्ने क्रममा डा. महतले केही सुधारात्मक प्रयाससहित नीति तथा कार्यक्रम आएको बताए ।
मौद्रिक-वित्त नीति समन्वय, परिणाममुखी बजेट विनियोजन, सामाजिक सुरक्षामा सन्तुलन, लगानीमैत्री वातावरण निर्माण र रोजगारी सिर्जनाजस्ता विषयलाई विशेष ध्यान दिएर नीति तथा कार्यक्रमलाई यथार्थमा परिणत गर्नुपर्ने धारणा डा. महतले राख ।
संसदमा विपक्षी नेताले ‘हाम्रो पालामा उत्कृष्ट, अहिले सबै बिग्रियो’ भन्ने शैलीमा धारणा राखे पनि त्यो पूर्णरूपमा सत्यतामा आधारित नरहेको उनको भनाइ छ । हरेक सरकारको प्राथमिकता फरक हुने उल्लेख गर्दै उनले समग्रमा नीति तथा कार्यक्रम राष्ट्र निर्माणमा केन्द्रित रहेकाले आलोचनाभन्दा सकारात्मक र कार्यान्वयनयोग्य सुझावको आवश्यकता रहेको बताए ।
हालको नीति तथा कार्यक्रम ठोस र सकारात्मक भए पनि त्यसलाई परिणाममुखी बनाउन कार्यान्वयन पक्षमा जोड दिन डा. महतको सुझाव छ । उनले विगतका जस्तै घोषणामै सीमित हुने प्रवृत्ति तोड्न आवश्यक रहेकाले बजेटको प्रभावकारी कार्यान्वयनलाई नीति निर्माणको मुख्य आधार बनाउनुपर्ने धारणा राखे ।
डा. महतले आर्थिक शिथिलताको एक प्रमुख कारण मौद्रिक र वित्तीय नीतिबीच समन्वय नहुनुभएको उल्लेख गरे । केन्द्रीय बैंकको मौद्रिक नीति र सरकारको वित्त नीति एक अर्कासँग असंगत हुँदा निजी क्षेत्रको आत्मविश्वास कमजोर भएको र लगानी प्रवाहमा अवरोध देखिएकोतर्फ उनले संकेत गरे ।
उनका अनुसार विगतमा बजेट प्रतिफलमुखी आयोजनामा जान नसक्दा लक्ष्यअनुसार आर्थिक विकास हुन नसकेको टिप्पणी उनको छ । तर यस पटकको नीति तथा कार्यक्रममा प्रतिफल दिने आयोजनालाई प्राथमिकतामा राख्ने र रुग्ण आयोजनामा बजेट नदिने नीति लिइएको उनले उल्लेख गरे । बजेट विनियोजनमा ‘कनिका छर्ने’ प्रवृत्तिको अन्त्य गर्दै तीन करोडभन्दा कमलागतका आयोजनामा संघीय सरकारले बजेट छुट्याउन नहुने सुझाव उनको छ ।
डा. महतले अनावश्यक सरकारी संरचना खारेज गर्ने र सार्वजनिक संस्थानलाई निजी क्षेत्रसँग सहकार्यमा सञ्चालन गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य रहेको बताए । यसले सेवाको गुणस्तर सुधार र स्रोतको प्रभावकारी प्रयोगमा योगदान दिने अपेक्षा उहाँले व्यक्त गरे ।
सामाजिक सुरक्षाका कार्यक्रमको दायित्व लगातार बढ्दो रहेको उल्लेख गर्दै उनले स्रोत व्यवस्थापनमा सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए ।
सुशासन प्रवर्द्धन, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवा सुधार तथा कृषिमा व्यवसायीकरण र आयात प्रतिस्थापनजस्ता रणनीति अवलम्बन गरिनुपर्ने उनको सुझाव छ । नीति तथा कार्यक्रममाथि नीतिगत रूपमा असहमति जनाउने खास कारण नभएको बताउँदै उनले लोकप्रियतावादी नाराबाट जोगिएर दीर्घकालीन नतिजा दिने कार्यक्रममै ध्यान केन्द्रित गर्नु आवश्यक रहेको उल्लेख गरे । डा. महतले सांसदले आलोचना मात्र नगरी ठोस सुझावसहित अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
अहिलेको आर्थिक चुनौती आम नागरिकको अपेक्षा पुरा गर्न नसक्नु हो भन्ने उल्लेख गर्दै उहाँले त्यसका लागि राज्यसँग पर्याप्त स्रोत नभएको, आम्दानी कम र खर्च बढी भएको यथार्थ प्रस्तुत गरे । चालू खर्च अत्यधिक र पुँजीगत खर्च न्यून रहँदा संरचनागत विकासमा असर परेको र यो प्रवृत्तिमा परिवर्तन गर्नुपर्ने सुझाव उनको छ ।
विदेशी सहयोग परिचालनलाई कसरी व्यवस्थित गर्ने भन्नेतर्फ ध्यान पु(याउन आवश्यक रहेको उनको भनाइ छ । “अनुदान निरन्तर घटिरहेको छ । अब हामीले वैदेशिक लगानी भित्र्याउने कुरालाई प्राथमिकतामा राख्नुपर्छ । लगानी सहज बनाइनुपर्छ”, उनले भने । लगानीका क्षेत्रमा देखिएको नीतिगत र व्यावहारिक समस्या समाधान गरेर जानुपर्नेमा उहाँले जोड दिए । विदेशी ऋण लिँदा पनि द्विपक्षीय भन्दा पनि बहुपक्षीय वैदेशिक ऋणलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।
डा. महतले रोजगारी सिर्जना गर्न पर्यटन क्षेत्रलाई प्रमुख आधारका रूपमा अघि बढाउन सकिने सुझाव दिए । त्यसका लागि सडक, होटेललगायतका पूर्वाधार विस्तार गर्नुपर्नेमा उनले जोड दिए । नेपाल वायुसेवा निगमको व्यवस्थापन निजी क्षेत्रलाई दिनुपर्ने सुझाव उनको छ ।













सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
देउवा निवासमा छलफलपछि ज्ञानेन्द्र कार्कीले भने – पार्टी एकढिक्का राख्न संवादको ढोका खुला छ
नेपाल प्रहरीका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया