मंगलबार, चैत १७, २०८२

‘जार’ हेरेपछि मनीषाको प्रतिक्रियाः नेपाली चलचित्र स्तरीय बन्न थालेका छन्

मेरोन्यूज २०८२ वैशाख २४ गते २१:१७

अभिनेत्री मनिषा कोइरालाले नेपाली चलचित्र स्तरीय बन्न थालेको बताएकी छन्। चलचित्र ‘जार’ को ‘प्रिमियर शो’ हेरेपछि प्रतिक्रिया दिँदै उनले चलचित्रको ‘मेकिङ’, छायाङ्कन, पाश्र्वसङ्गीत, रङ्ग संयोजनलगायतका प्राविधिक विधाको तारिफ गरिन्।

Advertisement
nepal life insurencenepal life insurence

‘मलाई गर्व लाग्छ की हामीले पछिल्लो समय एकपछि अर्को राम्रो चलचित्र बनाएका छौँ। यी चलचित्रले नेपालको कुनै एक कालखण्डको दस्तावेजसँगै साहित्य र चलचित्रलाई एक आपसमा जोडेको छ। कलाकारको काम प्रसंशायोग्य छ’, उनले भनिन्, ‘यसको छायाङ्कन, पाश्र्वसङ्गीत, निर्देशन हेर्दा हामी विश्वका चलचित्र भन्दा कमजोर छैनौँ भन्ने लाग्छ।’

साहित्यकार इन्द्रबहादुर राईको कथालाई चलचित्रमा न्यायपूर्ण तरिकाले प्रस्तुत गरेको अभिनेत्री कोइरालाले बताइन्।

निर्देशक फुर्वाछिरिङ लामाले कथा पढेकालाई चलचित्र हेर्दा नबिझाउने किसिमले निर्माण गरिएको गरिएको बताए।
‘मैले यसलाई चार वर्ष लगाएर तयार गरेको हुँ। सबैले रुचाएको कथालाई चलचित्रमा प्रस्तुत गर्न मैले सक्दो कोसिस गरेको छु’, निर्देशक लामाले भने।

चलचित्रमा अभिनेताद्वय सौगात मल्ल र अनुपविक्रम शाही, अभिनेत्री गिताञ्जली थापा केन्द्रीय भूमिकामा छन्। अभिनेता शाहीले आफूले प्राप्त गरिरहेको प्रतिक्रियाले मेहनतको फल प्राप्त भएको आभास भएको बताए।

‘मैले कलाकारिताको यात्रामा यस्तो मेहनत कुनै चलचित्रमा गरेको थिइनँ। किनकि यो सबैको प्रिय कथा थियो र त्यो पात्रलाई पाठकले ‘इम्याजिन’ गर्नुभएकै रुपमा प्रस्तुत गर्नुथियो। अर्को तर्फ म अभिनेता मल्लसँग काम गर्दै थिएँ, जो अभिनयमा अब्बल हुनुहुन्छ’, उनले भनिन्।

दुईसय वर्षअघिको नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित उक्त चलचित्र यही वैशाख २६ देखि नेपालभर प्रदर्शन हुँदैछ।’

प्रतिक्रिया