नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिममा रामेश्वर चौधरी मन्त्री नियुक्त

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ बमोजिम रामेश्वर चौधरीलाई आज मन्त्रीमा नियुक्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित चौधरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रदेश प्रमुख मियाँले नवनियुक्त मन्त्री चौधरीलाई आजै साँझ आफ्नै कार्यालय धनगढीमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराए । सो अवसरमा मुख्यमन्त्री शाह, मन्त्रीहरु, प्रदेशसभा सदस्यहरुलगायतको उपस्थिति रहेको थियो । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले प्रदेशसभा सदस्य कैलाश चौधरीलाई मन्त्री बनाउन सिफारिस गर्न संसदीय दललाई निर्देशन दिएका थिए ।
संसदीय दलको बैठकले भने अध्यक्षको निर्देशन विपरीत संसदीय दलका नेता घनश्याम चौधरीलाई मन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको थियो । उनी मन्त्री बन्न इच्छुक नभएपछि आजै बसेको अर्को बैठकले रामेश्वर चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेको थियो । संसदीय दलमा उत्पन्न किचलोका सन्दर्भमा दलका प्रमुख सचेतक इन्दिरा गिरीले भने, “दलमा विवाद हुन्छ, सहमति खोजेर अघि बढ्ने हो ।”
विवादास्पद ‘अडियो’ (श्रव्य सामग्री) सार्वजनिक भएपछि सो पार्टीबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको जिम्मेवारीमा रहनुभएका लक्ष्मणकिशोर चौधरीले गत चैतमा पदबाट राजीनामा दिएका थिए । त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सो पार्टीका सातजना सदस्य छन् । नेपाली कांग्रेसका १८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ११, नेकपा (माओवादी केन्द्र)का पनि ११, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका र स्वतन्त्र एक–एक सदस्य हुनुहुन्छ ।









सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य
कमला पुल निर्माण तीव्र गतिमा अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता
जेनजी आन्दोलनका घाइतेले गरे माइतीघरमा धर्ना
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया