जनशक्ति अभाव हुँदा गुठी संस्थानको सेवा प्रवाहमा समस्या

काठमाडौं। गुठी संस्थानमा स्वीकृत जनशक्तिको आधाभन्दा कम कर्मचारी कार्यरत हुँदा सेवा प्रवाहमा समस्या हुन थालेको छ । संस्थानमा एक सय ९६ जनाको दरबन्दी स्वीकृत भएकामा हाल ९४ जना मात्र कार्यरत हुँदा सेवा प्रवाहमा समस्या भएको हो।
हाल करार सेवामा समेत गरी ९४ जना कार्यरत कर्मचारी रहेका संस्थानका सूचना अधिकारी जनक पोखरेलले जानकारी दिए । उनका अनुसार तीमध्ये ५४ स्थायी र ४० जना सेवा करारमा छन् ।
प्रधान कार्यालयसहित ११ वटा कार्यालय रहेको संस्थानमा जनशक्ति कम भएकाले धर्म, संस्कृति क्षेत्रको संरक्षण, संवर्द्धन एवं प्रवर्द्धनमा संस्थानले गर्ने काम प्रभावित हुने गरेका छ ।
संस्थानमा विसं २०७२ पछि पदपूर्ति हुन नसक्दा कर्मचारी अभाव देखिएको सूचना अधिकारी पोखरेलले बताए । उनका अनुसार पदपूर्ति गर्नेगरी विसं २०७५ मा जारी भएको विनियम सर्वोच्च अदालतको आदेशमा खारेज भएपछि कर्मचारी पदपूर्ति हुन नसकेको हो ।
पछिल्लो पटक गत फागुन १९ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले संस्थानको विनियमावली स्वीकृत गरेका छन् ।
संस्थानले ‘ओएनएम सर्वे’ गरी विनियमावली स्वीकृतिका लागि मन्त्रालयमा पठाएको प्रशासक शैलेशराज कुँवरले जानकारी दिए । मन्त्रालयबाट स्वीकृत भएर आउने बित्तिकै पदपूर्ति प्रक्रिया सुरु गरिने उनले बताए । यसपटक दुई सहसचिव, १५ उपसचिव र १० जना शाखा अधिकृत खुलाउने तयारी भइरहेको संस्थानले जनाएको छ ।
यसैबीच, गत वैशाख २० गते बसेको संस्थान सञ्चालक समितिको बैठकले सङ्घीय संरचनाअनुसार कोशी र लुम्बिनी प्रदेशमा प्रदेश कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया