शनिबार, वैशाख ५, २०८३

सुपर–३ को अन्तिम खेलमा थाइल्यान्डविरुद्ध नेपालको हार

मेरोन्यूज २०८२ जेठ ६ गते १२:४५

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले थाइल्यान्डसँग ७८ रनको हार व्यहोरेको छ । 

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

मंगलबार थाइल्यान्डमै भएको खेलमा घरेलु टिमले प्रस्तुत गरेको १५९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर ब्याटिङ गरे पनि नौ विकेट गुमाएर ८० रनमात्र बनाउन सक्यो ।

नेपालकी कविता कुँवरले सर्वाधिक २४ रन बनाइन् । राजमती ऐरीले १९ रन बनाउँदा रुविना क्षेत्रीले १२ रन थपिन् । यसबाहेक, नेपालका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । नेपालका दुई ब्याटर गोल्डेन डक हुँदा अरू दुई ब्याटर डक भए । 

नेपाललाई सस्तैमा समेट्न ओनिचा काम्चोम्फुले चार विकेट लिइन् । चार ओभर बलिङ गरेकी उनले एक मेडन फ्याँक्दै ११ रन खर्चिइन् । थिपट्चा पुथावोङले तीन विकेट लिइन् । यस्तै, सुलिपोर्न लाओमीले एक विकेट हात पारिन् । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १५८ रनको योगफल खडा गरेको थियो ।

थाइल्यान्डकी नाताया बुचाथाम र नानापाट कोन्चारोएन्काईले समान ५० रन बनाए । यस्तै, अफिसारा सुवान्चोनराथीले २९ र नाथाकान चान्थमले १५ रन थपे । 

नेपालका राजमति ऐरी र मनीषा उपाध्यायले समान एक विकेट लिए । 

यो हारका बाबजुद नेपाल एसिया छनोटको शीर्ष दुईमा रहँदै ग्लोबल क्वालिफायरमा छनोट भइसकेको छ । 

नेपालले यसअघि सोमबार भएको खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध पाँच विकेटको जित निकाल्दै ग्लोबल क्वालिफायरमा स्थान सुनिश्चित गरेको थियो ।

प्रतिक्रिया