शनिबार, जेठ १०, २०८२

हावाहुरीले अकबरे खुर्सानीमा क्षति, किसान चिन्तित

मेरोन्यूज २०८२ जेठ १० गते ९:४५

भोजपुर। वर्षासँगै आएको हावाहुरीले खुर्सानी खेतीमा क्षति भएपछि भोजपुर बोखिमका किसान चिन्तित बनेका छन् ।

हुरीका कारण फुल्दै गरेको अकबरे खुर्सानी लडाइदिएपछि किसान चिन्तामा परेका हुन् ।

निरन्तरको वर्षाले फल्ने बेला भएको खुर्सानीमा क्षति भएको कृषक कुमार विष्टले बताए । राम्रो नगदेबालीका रुपमा रहेको खुर्सानी फल्ने बेलामा हावाले क्षति गरेपछि समस्या भएको उनको भनाइ छ ।

बोखिमका अधिकांश किसानले अबकरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका छन् । मल्चिङ प्रविधिबाट यहाँका किसानले खुर्सानीको खेती गरिरहेका छन् ।

पछिल्लो समय दैविक प्रकोपको अलावा, खुर्सानीको जरा कुहिने, पात पहेँलो हुने, कीरा लाग्ने समस्या बढी मात्रामा देखिन थालेको किसानको भनाइ छ ।

भोजपर नगरपालिकाको बोखिम, पोखरे, भैँसीपङ्खालगायत क्षेत्रमा खुर्सानीको व्यावसायिक खेती हुने गरेको छ ।

प्रतिक्रिया